चितवन- सशस्त्र प्रहरीको एपीएफ क्लब र काठमाडौंको न्यु डायमन्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
भरतपुर–२२ पटिहानीस्थित आधारभूत विद्यालय धनौजीको खेलमैदानमा आज बिहान भएको पहिलो सेमीफाइनल खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गरेको हो।
एपिएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा हराउने क्रममा २५–१४, २७–२५ र २५–१५ को जीत निकालेको हो।
दोस्रो सेमिफाइनलमा न्यु डायमण्ड एकेडेमीले त्रिभुवन आर्मी क्लबलाई पनि ३-० काे सोझो सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गरेको छ। न्यु डायमन्डले २५–१४, २५–१२ र २५–२१ ले आर्मीलाई पराजित गरेको हो।
प्रतियोगिताको उपाधि भिडन्तका लागि एपीएफ क्लब र न्यु डायमन्ड मंगलबार आमने–सामने हुनेछन्। खेल दिनको १ बजे सुरु हुने प्रतियोगताका प्रचार–प्रसार संयोजक रामहरि सेढाईले जानकारी दिए।
तेस्रो स्थानका लागि हुने नेपाल पुलिस र त्रिभुवन आर्मीबिचको खेल मंगलबार बिहान १० बजे हुनेछ।
प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।