काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत केन्या विरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ। खेल नामिबियाको वन्डरर्स मैदानमा दिउँसो केन्याले पहिले ब्याटिङ गरिरहेको छ।
नेपालले आफ्नो चौथो खेल खेल्न लागेको हो। यसअघिका नेपालले नामिबिया र युएईलाई हराउँदा ओमानसँग हार बेहोरेको थियो। केन्याले भने तेस्रो खेल खेल्न लागेको हो। केन्याले सुरुवाती दुवै खेल गुमाएको थियो।
नेपाल र केन्याबीच पछिल्लो ३ वर्षमा पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो। नेपाल विरुद्धका पछिल्ला ४ मध्ये केन्याले ३ खेलमा जित हात पारेको छ। नेपाल १ खेलमा विजयी भएको छ।
डब्लुसिएल च्याम्पियनसिपअन्तर्गत भएको पछिल्लो खेलमा नेपालले केन्यालाई ७ विकेटले हराएको थियो। टियु मैदानमा भएको खेलमा केन्याले दिएको १ सय ५६ लक्ष्य नेपालले ३ विकेटको क्षतिमा पार गरेको थियो। नेपालको जितमा ज्ञानेन्द्र मल्लले नटआउट ६४ र दीपेन्द्रसिंह ऐरीले ६२ रन जोडेका थिए। त्यसअघि टियु मैदानमै भएको खेलमा केन्याले नेपाललाई ५ विकेटले हराएको थियो।
सन् २०१५ को डिभिजन-२ मा खेलिएका दुवै खेलमा नेपाललाई केन्याले पराजित गरेको थियो। समूह चरणमा केन्याले नेपाललाई ५ विकेटले हराएको थियो। यस्तै तेस्रो स्थानको प्लेअफमा पनि नेपालमाथि केन्याले १५ रनको जित हात पारेको थियो।
जारी डिभिजन-२ मा नेपाल ३ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ। क्यानडा लगातार तेस्रो जित निकाल्दै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। क्यानडाले आइतबार भएको खेलमा केन्यालाई ५९ रनले पराजित गरेको थियो। यसअघि क्यानडाले पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो।
अंक तालिकाको तेस्रो स्थानमा युएई छ। युएईले एक खेलमा जित निकाल्दा २ खेलमा हार बेहोरिसकेको छ। २ खेलबाट २ अंक जोडेको आयोजक नामिबिया चौथो तथा ३ खेलबाट २ अंक जोडेको ओमान पाँचौ स्थानमा छ। दुवै खेलमा पराजित केन्या पुछारमा छ।
डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।