बार्सिलोना– पछिल्लो १६ महिनापछि घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोना पहिलाे पटक गोलरहित बराबरीमा रोकिएको छ। स्पेनीस लालीगाअन्तर्गत नाउ क्याम्पमा गएराति भएको खेलमा गेटाफेले बार्सिलोनालाई बराबरीमा रोकेको हो।
इस्पानियोलसँग भएको अघिल्लो खेलमा बेन्चमा बसेका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई मैदानमा उतारे पनि बार्सिलोनाले गोल गर्न सकेन।
अर्नेस्टो भाल्भर्डेको टोली बार्सिलोनाका लागि खेलको ५० मिनेटमा अग्रता लिने सुन्दर अवसरलाई मेस्सीले सदुपयोग गर्न सकेनन्।

इभान राकिटिकले खेलको एक घण्टालगत्तै हानेको प्रहारलाई गेटाफेका डिज्नी डाकोनमले उत्कृष्ट बचाउ गर्दै गोल हुन दिएनन्।
गत महिना मात्रै पाल्मेइरसबाट नाउ क्याम्प भित्रिएका युवा सेन्टर ब्याक यरी मिनाले आफ्नो डेब्यु खेलमै गोल गर्ने अवसर गुमाए।
खेलअवधिभर राम्रा अवसरहरु सिर्जना गरेपनि गेटाफेको बलियो रक्षापंक्ति तथा गोल किपिङले बार्सिलोनाले आफ्ना घरेलु दर्शकलाई खुशी तुल्याउन सकेन।

बराबरीसँगै बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ७ अंकले माथि छ। शिर्ष स्थानमा रहेको बार्साले २३ खेलबाट ५९ अंक जोड्दा एथ्लेटिको मड्रिडले समान खेलबाट ५२ अंक मात्र बनाएको छ। तेस्रो स्थानमा रहेको रियल मड्रिड एथ्लेटिको मड्रिडभन्दा १० अंकले पछि छ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।