काठमाडौं- आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत युएईलाई पराजित गरेपछि नेपालका कप्तान पारस खड्काले भाग्यवश रणनीतिले काम गरेको बताएका छन्।
नेपालले आइतबार भएको खेलमा युएईलाई ४ विकेटले पराजित गरेको थियो। 'यहाँको मैदानमा जतिबेला पनि विकेट लिन सकिन्छ,' पारसले युएईको पत्रिका द नेसनललाई भनेका छन्,' भाग्यवश रणनीतिले काम गर्यो। मैले आफैलाई प्रयोग गरे। अनि रन आयो।'
सामान्य योगफल पार गर्न एक जना ब्याट्सम्यान चले पुग्ने लागेको बताउँदै उनले भने, 'यदि एक ब्याट्सम्यानले ५० वा ६० रन बनाए जित निकाल्न सकिन्छ भन्ने लागेको थियो। भाग्यवश मैले रन बनाउन सकेँ।'
युएईका प्रशिक्षक डोगी ब्राउनले नेपालले राम्रो बलिङ गरेको बताए। युएईले पनि जवाफमा राम्रो बलिङ गरेको ब्राउनको भनाइ छ। नेपालका कप्तान पारस खड्काले राम्रो ब्याटिङ नेपालले जित हात परेको ब्राउनले बताए।
जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। युएई भने दुई खेलमा पराजित भइसकेको छ। अब नेपालले आज हुने खेलमा केन्यासँग प्रतिस्पर्धा गर्नेछ। खेल नामिबियाको वन्डरर्स मैदानमा हुनेछ। आजै नामिबिया र क्यानडा तथा ओमान र युएईबीच प्रतिस्पर्धा हुनेछ।
डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।