चितवन– तीनै विभागीय टोली र काठमाडौंको न्यू डायमण्ड एकेडेमी चितवनको पटिहानीमा जारी प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन्।
समूह ‘ए’ बाट सशस्त्र प्रहरीको एपीएफ र नेपाल आर्मी तथा ‘बी’ बाट न्यू डायमण्ड र नेपाल पुलिस अन्तिम चारमा प्रवेश गरेका हुन्। समूह चरणमा एपीएफ र न्यू डायमण्डले आफ्ना सबै खेल खेल्दै समूह विजेता बन्दै सेमीफाइनल प्रवेश गरेका हुन्।
४ टोली रहेको समूह ‘ए’ मा एपीएफले समूह चरणका तीनै खेलमा सहज जित हात पार्दा न्यू डायमण्डले खेलेका दुवै खेलमा जित निकाल्यो। एपीएफले आर्मी, बंगलादेश र चितवन टाइगर्सलाई हराउँदा उही समूहको आर्मीले चितवन र बंगलादेशलाई पराजित गर्दै समूह उपविजेता बन्दै अन्तिम ४ मा स्थान पक्का गरेको हो।
३ टोली मात्रै रहेको समूह ‘बी’ मा न्यु डायमण्डले नेपाल पुलिस र भारतको हरियाणा पुलिस टिम दुवै टोलीमाथि सहज जीत हात पारेको थियो। दुवै टोली न्यु डायमन्डसँग ३–० को सोझो सेटमा पराजित भएका थिए।
नेपाल पुलिसले भने भारतको हरियाणालाई ३–१ ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेको हो। उसले आज भएको खेलमा पहिलो सेट हरियाणालाई सुम्पिए पनि बाँकि सेट सहजै आफ्नो पक्षमा पार्दै खेलमा विजयको झण्डा गाडेको थियो।
तर, प्रतियोगितामा सामेल भएका दुबै विदेशी टोली बंगलादेशको ईफात र भारतको हरियाणा पुलिस क्लब समूह चरणका सबै खेल गुमाएर प्रतियोगिताबाट बाहिरिए। घरेलु टोली चितवन टाइगर्सले पनि आफ्नो मैदान तथा दर्शकको फाइदा उठाउन सकेन। ३ खेलमा उसले एकमा जीत र दुईमा हार व्यहोर्यो। उसले बंगाली टोलीविरुद्ध २५–१६, २५–२४ र २५–२२ को जित निकालेको थियो।
सेमीफाइनलका खेलहरु सोमबार हुने प्रचारप्रसार संयोजक रामहरि सेढाईले जानकारी दिए। प्रचारप्रसार संयोजक सेढाईका अनुसार अाज बिहान हुने पहिलो सेमीफाइनलमा एपीएफले नेपाल पुलिसको सामना गर्नेछ भने दिउँसो न्यू डायमण्डले नेपाल आर्मीसँग भिड्नेछ।
लिगकम नकआउटको आधारमा खेलाइएको प्रतियोगिताको तेस्रो दिन भोलि दुई सेमीफाइनल र तेस्रो स्थान र उपाधि भिडन्त भने मंगलबार सम्पन्न गरिने प्रतियोगिता संयोजक तथा भरतपुर महानगरपालिका २२ नम्बर वडाध्यक्ष विष्णुराज महतोले बताए।
प्रतियोगिताका विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले एक लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमले ५० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाण पत्र र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। अन्य विभिन्न चार विद्यामा उत्कृष्ट हुने खेलाडीले ५ हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संयोजक महतोले जानकारी दिए।
भरतपुर–२२ पटिहानीको आधारभूत विद्यालय धनौजीको खेलमैदानमा भइरहेको प्रतियोगितामा २ विदेशीसहित ७ टोलीको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।