काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा दोस्रो जित हात पारेसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
आइतबार भएको खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो।
नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो।
क्यानडा लगातार तेस्रो जित निकाल्दै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। क्यानडाले आइतबार भएको खेलमा केन्यालाई ५९ रनले पराजित गरेको थियो। यसअघि क्यानडाले पहिलो खेलमा ओमान तथा दोस्रो खेलमा युएईलाई पराजित गरेको थियो।
अंक तालिकाको तेस्रो स्थानमा यूएई छ। यूएईले एक खेलमा जित निकाल्दा २ खेलमा हार बेहोरिसकेको छ। २ खेलबाट २ अंक जोडेको आयोजक नामिबिया चौथो तथा ३ खेलबाट २ अंक जोडेको ओमान पाँचौ स्थानमा छ। दुवै खेलमा पराजित केन्या पुछारमा छ।
अब नेपालले सोमबार हुने खेलमा केन्यासँग प्रतिस्पर्धा गर्नेछ। खेल नामिबियाको वन्डरर्स मैदानमा हुनेछ। सोमबार नामिबिया र क्यानडा तथा ओमान र यूएईबीच प्रतिस्पर्धा हुनेछ।
डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन्। एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।