सिमरा– सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ४–० ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब बाराको सिमरामा जारी नवौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
आर्मीको सेमिफाइनल यात्रामा म्यान अफ दि म्याच जर्जप्रिन्स कार्कीले २ तथा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले १/१ गोल गरे।
जर्जप्रिन्सले खेलको ३६औं मिनेटमा पहिलो गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको एपिएफ विरुद्ध आर्मीले दोस्रो हाफमा ३ गोल गर्यो।
दोस्रो हाफको सुरुवातमै नवयुगले अग्रता दोब्बर पारे। खेलको ४७ औं मिनेटमा नवयुगले डि एरियामा पाएको पासलाई गोलमा परिणत गरे। टंक बस्नेतको पासमा नवयुगको सानदार गोलपछि सशस्त्र थप दबावमा पर्यो।
खेलको ७१औं मिनेटमा अन्डर १९ राष्ट्रिय फुटबल टिमका स्ट्राइकर दिनेश हेम्जनले आर्मीका लागि तेस्रो गोल गरे। खेलको उतरार्धमा ३–० को फराकिलो अन्तर झेलेको एपिएफ खेलको ७५औं मिनेटमा ९ खेलाडीमा सीमित भयो भने आर्मी १० खेलाडीमा सीमित भयो।
एपिएफका रञ्जन विष्टले आर्मीका विमल पाण्डेलाई आर्मीको डिबक्समा लडाएपछि केहीबेर दुबै टिमबीच तनाव भएको थियो। फाउलपछि पहेंलो कार्ड पाएका रञ्जन आर्मीका खेलाडीसँग झगडा गर्न गएपछि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिए। रञ्जनसँगै उनका भाइ एवं एपिएफका स्ट्राइकर अञ्जन पनि दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिए भने आर्मीका चर्चित स्ट्राईकर नवयुग रातो कार्ड पाएर मैदानबाट बाहिर निस्किए। सशस्त्र र आर्मीका खेलाडीबीच मैदानमै हात हालाहाल समेत भयो।
९ खेलाडीमा सीमित एपिएफ विरुद्ध आर्मीले खेलको अन्तिम समयमा चौथो गोल गर्यो। खेलको ८२औं मिनेटमा जर्जप्रिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–० को सानदार जित दिलाए।
प्रतियोगिताको छैटौं संस्करणको उपाधि विजेता तथा साविक उपविजेता आर्मीले अब साविक विजेता संकटा र वीरगञ्ज युनाइटेड क्लबबीच मंगलबार हुने अन्तिम क्वाटर फाइनलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ।
प्रतियोगितामा सोमबार थ्रीस्टार क्लब र सुदूरपश्चिम ११ स्पोर्टस क्लब धनगढीबीच खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।