रसुवा– रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुने अवैध क्रियाकलाप रोक्न ४ महिने महाहन्ट अभियान सञ्चालन गरिने भएको छ।
निकुञ्ज क्षेत्रमा अवैध ओसारपसार बढ्न थालेसँगै चोरी-तस्करी रोक्न अभियान चलाउन लागेकोे लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए।
उनले भने, ‘हिउँदको समयमा वन्यजन्तु तथा वनस्पतिको बढी मात्रामा चोरी सिकार हुने भएकाले फागुनदेखि असारसम्म चार महिना अपरेसन स्वरुप यो अभियान सञ्चालन गर्न लागिएको हो।’
निकुञ्जले पहिचान गरेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको अति संवेदनशील स्थानहरुमा अभियान स्वरुप नेपाली सेना परिचालन गरिने भएको छ। यसअघि परिचालन गरिएको बाहेकका थप २ सय ५० सेना परिचालन गरिने बताइएको छ।
फागुन १ गतेदेखि अति संबेदनशिल स्थानहरुमा अस्थायी क्याम्प खडा गरी छोटो तथा लामो दूरीको गस्ती गरिने प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए। निकुञ्जले विशेष अभियान चलाएको यो चौथो पटक हो।
अभियानका क्रममा मध्यवर्ती उपभोक्ता समितिहरु, चोरी सिकार नियन्त्रण समूहसँग पनि समन्वय हुने लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले जनाएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र विश्वमै दुर्लभ वन्यजन्तु हिउँ चितुवा, रेडपान्डा र कस्तुरी मृग लगायत पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।