काठमाडौं– नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा भारतका भारतीय सेनाध्यक्ष विपिन रावत सोमबार नेपाल भ्रमाण्मा आउने भएका छन्। सेना दिवसको अवसरमा उनलाई नेपाल भ्रमणमा बोलाइएको हो।
नेपाली सेनाले नेपाल एकीकरणको २५० औं बर्षगाँठ मनाउने क्रममा मिति फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्।
‘नेपाली सेना र भारतीय सेना बिचको सम्बन्ध विगतदेखि नै निकट र प्रगाढ रही आएको छ । नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाले आयोजना गर्ने विशेष कार्यक्रमहरुमा विशेष अतिथिको रुपमा निमन्त्रणा गर्ने र भारतीय सेनाको मानार्थ सेनापति सम्मान दिइने प्रचलन रही आएको छ,’ नेपाली सेनाको बिज्ञप्तीमा भनिएको छ,‘त्यसैगरी, भारतीय सेनाका सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान दिने प्रचलन अनुसार नै हालका सेनाध्यक्ष जनरल विपिन रावतलाई मिति २०७३÷१२÷१६ गते सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मानार्थ महारथीको सम्मान प्रदान गर्नु भएको थियो।’
उच्च तहको सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र भारतीय सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कुटनीतिकोे माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास लिईएको सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।