राजविराज– शम्भुनाथ नगरपालिका १ का वडाध्यक्ष इन्द्रदेव साह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि जिल्ला वन कार्यालय सप्तरी र नगरपालिका कार्यालयबीच तिक्तता बढेको छ।
वन कार्यालयले साहलाई पक्राउ गर्न प्रहरीलाई दबाव दिन थालेको छ। नगरपालिकाले भने जिल्ला वन अधिकृत धीरेन्द्रप्रसाद सिंह पूर्वाग्रही भएर जनप्रतिनिधिको मनोबल खस्काउने षड्यन्त्रमा लागेको आरोप लगाएको छ।
पूर्व–पश्चिम राजमार्ग किनारका शीशौ काटेको आरोपमा जिल्ला वन कार्यालयले गत पुस १४ गते साह विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सडक डिभिजन कार्यालय लहानका नायव सुब्बा सत्यनारायण चौधरीको किटानी जाहेरीका आधारमा वन कार्यालयले साह विरुद्ध मुद्दा चलाउने तयारी समेत गरेको छ।
यसैबीच, चौधरीले साह विरुद्धको उजुरी फिर्ताका लागि वन कार्यालयमा निवेदन दर्ता गराएका छन्। स्थानीयको भनाइका आधारमा उजुरी दर्ता गरे पनि रुख काट्ने व्यक्ति आफूले नचिनेको भन्दै घटना स्थलको मुचुल्काका आधारमा कारबाही चलाउन चौधरीले निवेदनमा माग गरेका छन्। मुचुल्कामा रुख काट्ने व्यक्तिको पहिचान हुन नसकेको उल्लेख छ।
तर, जिल्ला वन कार्यालयले प्रहरीलाई पत्राचार गरी साहलाई पक्राउ गर्न दबाव दिन थालेपछि नगरपालिकाका मेयर योगेन्द्र चौधरीले आइतबार राजविराजमा पत्रकार सम्मेलन गरी त्यसको विरोध गरे। वडा नम्बर २ मा काटिएको रुखलाई आधार बनाएर वडा नम्बर १ का वडा अध्यक्षलाई बदनियतपूर्ण तरिकाले फसाउन खोजिएको उनको आरोप छ।
रुख कटान गरिएको विषयमा निर्दोष वडाअध्यक्षलाई फसाउन नहुने विषयमा कुरा गर्न जाँदा मेयर लगायत आफूलाई समेत जिल्ला वन अधिकृत सिंहले दुर्व्यवहार गरेको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङले बताए।
जिल्ला वन अधिकृत सिंहले भने चौधरीको उजुरीकै आधारमा वडा अध्यक्ष साह माथि मुद्दा चलाउने बताए। चौधरीले दबावका कारण उजुरी फिर्ताको निवेदन दिएको जिकिर गर्दै सिंहले भने, ‘साहलाई पक्राउ गर्न प्रहरीमा पत्राचार गरेका छौं। पक्राउ नपरे पनि सरकारी वकिल कार्यालय मार्फत मुद्दा चलाउँछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।