काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत युएई विरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। ओसिलो मैदानका कारण खेल ३४ ओभरमा घटाइएको छ।
खेलमा नेपालले सुरुवाती ३ विकेट लिएको छ। दुवै विकेट सोमपाल कामीले लिएका छन्। सोमपालले खेलको तेस्रो बलमै नेपाललाई सफलता दिलाए। उनले असरफ अहमेदलाई शून्य रनमा बोल्ड गरे। यस्तै उनले गुलाम सब्बरलाई १६ रनमा आउट गरे।
यस्तै करण केसीले १ विकेट हात पारे। उनले युएईका कप्तान तथा ओपनर रोहान मुस्ताफालाई ७ रनमा विकेटकिपर दिलीप नाथबाट क्याच गराए।
युएईले ९ ओभरमा ३ विकेट गुमाएर ३४ रन जोडेको छ।
नामिबियाको ट्रस्टको युनाइटेड मैदानमा निर्धारित समयभन्दा ३ घन्टा भएको खेलमा युएईले पहिले ब्याटिङ गरिरहेको छ। यसअघि खेल दिउँसो सवा १ बजेदेखि हुने तय थियो।
पहिलो खेलमा जित निकालेका दुवै टिम दोस्रो खेलमा पराजित भएका थिए। डिभिजन–२ को शीर्ष २ भित्र परेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउन दुवै टिमका लागि खेल महत्वपूर्ण छ।
यसअघि नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेपाललाई ओमानले ६ विकेटले हराएको थियो। युएईले पनि पहिलो खेलमा केन्यामाथि २ सय १८ रनको फराकिलो अन्तरको जित हात पारेको थियो। तर, दोस्रो खेलमा युएई क्यानडासँग २३ रनले पराजित भयो। क्यानडा प्रतियोगितामा दुवै खेलमा जित हात पार्ने एक्लो टिम हो।
दुवै खेलमा खराब ब्याटिङ गरेको नेपालका प्रशिक्षक जगत टमाटाले युएईविरुद्धको खेलमा राम्रो स्कोर गर्ने कोसिस गर्ने नेपाल लाइभलाई बताए। 'यहाँको ३ वटै मैदानको विकेट फरक–फरक छ। ब्याटिङ गर्न सबै टिमलाई गाह्रो भइरहेको छ,' टमाटाले नामिबियाबाट भने, 'बोर्डमा राम्रो स्कोर जुन टिमले लगाउन सक्छ त्यसले जित्ने हो।'
यता युएईका प्रशिक्षक डोगी ब्राउन पनि टिमले दोस्रो खेलमा गरेको ब्याटिङ प्रति सन्तुष्ट छैनन्। पहिलो खेलमा ३ सय ९ रन बनाएको युएईले दोस्रो खेलमा २ सय १० रनको लक्ष्य भेट्टाउन सकेको थिएन। प्रशिक्षक ब्राउनले नेपाल विरुद्धको खेलमा ब्याटिङ महत्वपूर्ण हुने बताएको युएईको पत्रिका द नेसनलले जनाएको छ। उनले मैदानको अवस्थाअनुसार युएईले खेल्न नसकेको भन्दै आलोचना गरेका छन्। 'एउटा लयमा खेलिरहेको बेला एक्कासी पानी पर्दा डिएल मेथडलाई हेरेर खेल्नुपर्छ। तर, हामीले कन्डिसनलाई दोष दिनु हुन्न। जहाँ-जस्तो अवस्थामा पनि खेल्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।