काठमाडौं- प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गर्न वाम गठबन्धन आबद्ध दल नेकपा एमाले र माओवादी केन्द्रले दाबी पेश गरेका छन्।
एमाले र माओवादी केन्द्रको संसदीय दलका नेताले प्रदेश प्रमुख उमाकान्त झा समक्ष एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न अनुरोध गरेका छन्।
संविधानमा प्रदेश प्रमुखले प्रदेशसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था अनुसार पोखरेललाई मुख्यमन्त्री बनाउन एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा निवेदन दिएका हुन्।
प्रदेश नम्बर ५ मा एमाले र माओवादीलाई सुविधाजनक बहुमत प्राप्त छ। कुल ८७ सांसद रहेको प्रदेश नम्बर ५ मा एमालेका ४१ र माओवादी केन्द्रका २० सांसद छन्।
वाम गठबन्धनको सहमति अनुसार एमाले नेता पोखरेलले प्रादेशिक सरकारको नेतृत्व गर्ने निश्चित भइसकेको छ।
एमालेको एक्लै बहुमत रहेको प्रदेश ३ मा पनि मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइएको छ। प्रदेश ३ मा माओवादी केन्द्रको प्रदेश संसदीय दलको नेता लिकराम जम्मकट्टेलले
एमालेका डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्ति गर्न प्रदेश प्रमुखलाई लिखित पत्र पठाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।