सिअाेल, शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई स्वागतका लागि दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री विमानस्थल पुगे।
उक्त प्रतिनिधिमण्डललाई स्वागतका लागि कुन स्तरका अधिकारी जाने भन्ने बारेमा दक्षिण कोरियाको मन्त्रिपरिषदमा छलफल भयो र मन्त्रीस्तरकै व्यक्तिबाट स्वागत गर्ने निर्णय पनि भयो।
सोही बमोजिम दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्रीसहितको टोली विमानस्थल पुगे। उहाँको यो स्वागत कार्यक्रमको सबैजसो सञ्चारमाध्यमहरुले समाचार दिए र यहाँका टिभीहरुले त्यसको फुटेज पनि देखाए।
शुक्रबार उद्घाटन भएको शीतकालीन ओलम्पिक खेलको उद्घाटन समारोहमा उत्तर कोरियाको तर्फबाट संवैधानिक संसद प्रमुख किम योङ नामको नेतृत्वको टोली पुगेको थियो।
उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी तथा सत्तारुढ दल लेवर्स पार्टीको केन्द्रिय समितिकी उप–निर्देशक किम यो जोङसमेत सामेल थिइन्।
यस उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग भेट गरेको छ। यस भेटलाई दुवै देशका मिडियाले प्रचार गरेका छन्।

पछिल्लो साढे ८ वर्षको इतिहासमा उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधिमन्डल दक्षिणको राष्ट्रपति भवन पुगेको यो पहिलो घटना हो।
यसअघि सन् २००९ को अगस्टमा दक्षिण कोरियाली राष्ट्रपति किम दाई जोङको स्वर्गारोहण भएको पहिलो वार्षिकीमा समवेदना दिन उत्तरको विशेष टोली दक्षिणको राष्ट्रपति भवन पुगेको थियो।
सो भेटमा दक्षिणका तत्कालिन राष्ट्रपति लि म्योङ ब्याकले उत्तरको समवेदना पत्र ग्रहण गरेका थिए।
यस पटकको भेटका बारेमा उत्तर कोरियाले पहिले नै कुनै समाचार दिएको थिएन। तर उसले अमेरिकासँग हुने भनेको भेटको बारेमा भने पहिले नै अस्वीकार गरेको थियो।
उद्घाटन सत्रमा भने उत्तर कोरियाली टोली र अमेरिकी उपराष्ट्रपति माइक पेन्स २ लहरमा बसेका थिए। अघिल्लो लहरमा बसेका पेन्स तथा उत्तरको टोलीका मुख्य अधिकारीहरु कोरियाको संयुक्त मार्चपासमा क्रममा भने हात मिलाउँदै खुशी साटासाट गरेका थिए।
गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा नेता किमबीच चेतावनीपूर्ण तथा एक आपसमा अनादर झल्काउने खालका श्रृङ्खलावद्ध भनाईहरू आएका थिए।
भेटमा किम योङ जोङले उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाका राष्ट्रपतिलाई प्योङयाङ सम्मेलनमा सहभागी हुन दिएको निम्तो पत्र हस्तान्तरण गरेकी राष्ट्रपतिको कार्यालयका प्रवक्ताले जानकारी दिएका छन्।

प्योङयाङमा छिट्टै हुन लागेको सो अन्तर कोरियाली शिखर सम्मेलन तेस्रो हो। यसअघि किमका पिता तथा तत्कालिन नेता किम जोङ द्वित्तीयले सन् २००० मा तत्कालिन दक्षिण कोरियाली राष्ट्रपति किम दाई–जुङ र सन् २००७ मा रो मु ह्युनबिचमा प्योङयाङमा नै भेटवार्ता भएको थियो।
निम्तोलाई राष्ट्रपति मुनले तत्कालै स्वीकार भने गरेका छैनन्। उत्तरको निम्तोलाई दक्षिणले लामो समयदेखि सैन्य सहयोग दिँदै आएको अमेरिकाको राय नबुझिकन स्वीकार्ने स्थिति नरहेको जानकारहरु बताउँछन्।
तर पनि आजसम्म शत्रुतापूर्णजस्तै अवस्था रहेका यी दुई देशका बीचमा राष्ट्रपतिस्तरमा नै भ्रमणका लागि यो आमन्त्रण गर्नुले सम्बन्ध सुधारमा आशा जगाएको भने धेरैले बताएका छन् ।
भेटमा उत्तरको टोलीका लागि दक्षिण कोरियाली राष्ट्रपतिले विशेष भोजकोसमेत आयोजना गरेको बताइएको छ।
उत्तरको सो टोलीले संयुक्त महिला आइस हक्की टोलीले स्विजरल्यान्डसँग खेलेको ऐतिहासिक खेलसमेत हेरेको थियो। सो खेल हेर्न क्वानदोङ हक्की केन्द्रमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बच र दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ–इन पनि पुगेका थिए।

३ दिने भ्रमण सकाएर आइतबार उत्तर कोरिया प्रस्थान गर्ने तयारीमा रहेको उक्त प्रतिनिधिमण्डलका नेता नामले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेससँग पनि गत शुक्रबारै संक्षिप्त भेट गरेका थिए।
संयुक्त राष्टसंघका उपप्रवक्ता फराहन हकले उक्त भेटवार्तामा कुनै कुराकानी नभएको भए पनि सो भेटलाई महत्वपूर्ण भेटको संज्ञा दिएका थिए।
विगत लामो समयपछि भएको यस भेटघाटबाट दुई कोरियाबीचमा सम्बन्ध सुधार हुने अपेक्षा गरिएको कोरियाली र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पनि विश्लेषण गरेका छन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।