इटहरी- २३ वर्षका ब्रह्मदेव मुखिया ११ वर्षदेखि कोशीमा माछा मारिरहेका छन्। सप्तरीको कञ्चनपुर निवासी उनको माछा मारेरै परिवार पाल्नु जिम्मेवारी हो। हालसम्म औपचारिक कक्षा नलिएका उनले विद्यालयको हाताभित्र पाइला समेत नराखेको बताए। 'सर-मिसले कुट्छन्' भनेर बुवाआमाले विद्यालय पढ्न नपठाएको उनले सुनाए।
उमेर बालकबाट किशोरावस्थातिर लागेपछि ब्रह्मदेव गाउँका दाइहरुसँगै कोशीमा माछा मार्न जान थाले। उनलाई माछा मार्नमै रस पस्दै गयो। घरदेखि २ किलोमिटर टाढाको विद्यालय जानुभन्दा १० किलोमिटर टाढाको कोशी नदी पुग्न उनलाई सहज लाग्यो। अहिले उनी कोशीका माछामै आफ्नो जीवन खोजिरहेका छन्।

यद्यपि, उनलाई नपढेकोमा भने कुनै पछुतो छैन, बरु वैदेशिक रोजगारीमा मलेसिया जान नपाएकोमा भने दुःखी छन्। ‘घरमा पढ्ने वातावरण नै भएन,’ उनी भन्छन्, ‘हाम्रा गाउँमा पढेका केटाहरु पनि हामीसँगै माछा मार्छन्। पढेर केही काम नै रैनछ।’
०००
उनको छेवैमा छन् पिन्टु मुखिया। माछा मार्नकै लागी कोशी किनारमा भेला भएका छन् उनीहरु। कक्षा दुईसम्म पढेका पिन्टुले पनि पढाइ छाडेको १३ वर्ष भयो। विद्यालय नजानुमा ब्रह्मदेवको जस्तै कारण छ पिन्टुको पनि। 'मिसले कुटेपछी बाबुआमाले पढ्न पठाउन छाडे,' त्यसपछि के गरे त पिन्टुले? भन्छन्- 'स्कुल जान छाडेपछि गाउँकै दाइहरुसँगै कोशीमा आउन थालें।'
अहिले उनको हातमा कापीकलम होइन, माछा मार्ने जाल छ।
उनका भाइ र बहिनीले पनि विद्यालय जान पाएका छैनन्। पढ्दा पैसा लाग्ने र कुटाइ पनि खाने भएपछि किन जानु भन्दै बाबुआमाले पढ्न नपठाएको उनी सुनाउँछन्। अहिले उनलाई पनि बाबुआमाकै कुरा सही लाग्न थालेको छ।
कक्षा १२ सम्म पढेका अन्टडु मुखिया पिन्टुसँगै माछा मार्छन्। अन्टडु भन्दा आफू माछा मार्न पोख्त भएपछि पिन्टु पढाइको महत्व नै देख्दैनन्।
कक्षा १० भन्दामाथि पढ्न पैसा लाग्ने भएपछि कञ्चनपुरमा अधिकांशले छोराछोरीलाई नपढाउने गरेको मुखियाले बताए। उनका अनुसार गाउँमा १० कक्षाभन्दा माथि पढ्ने केही मात्रै छन्।
गाउँका अधिकांश युवाहरु मलेसियामा रहेको उनको भनाइ छ। उनी पनि मलेसीया जाने दाउमा बसेका छन्। तर, मलेसिया जान नपाउने भएपछि उनी माछा मार्न कोशी आउँछन्। अबको उनको एकमात्र उद्देश्य मलेसिया जाने र घर बनाउने छ।

दिउँसो अत्याधिक गर्मी भएकोले कोशी किनारमा थकाइ मारिरहेका उनीहरुसँगको कुराकानीका क्रममा साइकल लिए आएका थप ३ किशोर त्यहीँ मिसिए। विद्यालय जान छोडेर कोशी नदीमा आउने उनीहरुको पनि दिनचर्या रहेछ। कोशीमा गएर माछा मार्न सिक्न र पौडी खेल्न उनीहरुलाई पढ्नुभन्दा ज्यादा रमाइलो लाग्छ।
०००
कोशी किनारमा मात्र होइन, इटहरीको मुस्लिम टोलका युवामा पनि पढाइलाई लिएर समान बुझाइ छ। गाउँमा कक्षा १२ सम्म पढेका युवाहरु बेरोजगार छन्। मलेसियाको भिसा कुरेर बसिरहेका उनीहरुलाइ देखेर अन्य युवाहरुमा पनि पढ्ने जाँगर चलेको छैन। युवाहरुमा मात्र होइन, हरेक परिवारमा 'पढेर काम छैन' भन्ने बुझाइ रहेछ।
सोही टोलका सबिर मोहम्मद आर्थिक अभावका कारण धेरैले पढाइ छाडेको बताउँछन्। उनले पनि ५ कक्षा सम्ममात्र औपचारिक शिक्षा लिएका छन्। घरमा पनि पढ्नुपर्छ नभन्ने र आफूलाई पनि पढ्न खासै मन नलाग्ने भएकाले पढाइ छाडेको उनले सुनाए।

युवाहरुमाझ केही बढी जान्ने-बुझ्नेमा गनिदा रहेछन्- अर्मान मोहम्मद। उनले मदरसामा ५ कक्षासम्म पढेका छन्। घरमा पनि 'पढेका व्यक्तिले केही नगरेको' भन्दै विदेश जान सल्लाह दिने गरेको उनको भनाइ छ। उनी पनि सबिरजस्तै अहिले मलेसीयाको भिसा कुरेर बसेका छन्।
भिसा कुरेर बस्ने अधिकांश युवाहरुको दिन लुडो खेलेर बित्छ। अन्ततः विदेश नै जाने भएपछि किन पढ्ने भन्ने बुझाइमा छन् युवाहरु। बरु केही सीप भए विदेशमा सजिलो हुने बुझेपछि केहीले सीप सिक्न समेत थालेका अर्मानले जानकारी दिए। उनीहरु विशेषतः इलेक्ट्रिकल, मेकानिकल, प्लम्बरलगायत सीप सिक्ने गर्छन्।
पढेर जागिर पाउने ग्यारेन्टी नभएको अर्मानले दुःखेसो पोखे। 'पढेर न जागिर मिल्छ, न आम्दानी हुन्छ। धेरै पढेर के छ काम?,' उनले प्रश्न गरे, 'अन्तिममा माछा नै मार्नुपर्ने भएपछि को यहाँ बस्छ? जान्छ सबै मलेसिया।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।