रसुवा– रसुवामा ग्रामीण सडकको पहुँच नपुगेका स्थानमा सडक पुर्याउने अभियान सुरु भएको छ। प्रतिनिधिसभाका सदस्य इन्जिनियर मोहन आचार्यले सडकले नछोएका स्थानमा सडक सञ्जाल पुर्याउनका लागि व्यक्तिगत लगानीमा अभियान थालेका हुन्। हरेक गाउँपालिकाको अधिनमा रहनेगरी नवनिर्वाचित सांसद आचार्यले १ करोड ७० लाखको लागतमा स्काभेटर र डोजर खरिद गरेका छन्। खरिद गरिएको स्काभेटर र डोजरको शनिबार लामाटोलमा एक कार्यक्रमबीच सांसद आचार्यले उद्घाटन गरे।

डोजर तथा स्काभेटर जिल्लाभरिका ग्रामीण स्थानमा सडक पुर्याउनका लागि प्रयोग गरिने भएको हो।
गाउँगाउँमा सडक जोड्ने अभियान अन्तर्गत पहिलो चरणमा कालिका गाउँपालिका २ लामाटोलबाट चित्रेपानीसम्मको करिब ३ किलोमिटर बाटो निर्माण थालिएको छ।
सम्बृद्ध तथा नमूना जिल्ला बनाउने अभियान अन्तर्गत पहिलो चरणमा जिल्लाका सबै ठाउँलाई सडकसँग जोड्ने अभियान सुरु गरेको आचार्यले बताए । उनले भने, ‘मैले चुनावमा उम्मेदवारी दिँदा पनि रसुवालाई नमूना जिल्ला बनाउने बाचा गरेको छु, त्यो बाचा पूरा गर्न अहोरात्र खटिनेछु।’
तत्काल पुनर्निर्माणका लागि जनताको ढुवानी लागत घटाउन यो अभियानले फाइदा पुग्ने आचार्यको भनाइ छ। उनी भन्छन्, ‘भुकम्पपछिको पुनर्निर्माणका लागि अहिले धमाधम काम भइरहेको छ, गाउँमा सडकले छुन नसक्दा धेरै समस्या छ, सडक निर्माण भएसँगै पुनर्निर्माणका सामग्री ढुवानीमा सहज हुन्छ।’

रसुवाका ५ वटै गाउँपालिकाका एक–एक जना सदस्य बनाई ग्रामीण सडक निर्माण कमिटि गठन गरिने भएको छ। स्थानीय बासिन्दाको माग अनुसार इन्जिनियरको सल्लाहमा प्राथमिकीकरण गरी सडक निर्माण गरिँदै लगिने सांसद आचार्यले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।