सिओल- शितकालिन ओलम्पिकमा सहभागी उत्तर कोरियाको उच्चस्तरिय प्रतिनिधी मन्डलले दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग भेट गरेको छ। शनिबार राष्ट्रपति निवास ब्लु हाउसमा भएको सो भेट अनौपचारिक मात्रै भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
भेटमा उत्तर कोरियाको तर्फबाट संवैधानिक संसद प्रमुख किम योङ नामको नेतृत्वमा ४ प्रतिनिधीको सहभागिता रहेको थियो। सो भेटघाटमा उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी तथा सत्तारुढ वर्कस् पार्टीको केन्द्रिय समितिकी उपनिर्देशक किम योङ जोङ, राष्ट्रिय खेलकुद निर्देशन कमिटीका अध्यक्ष चोइ हाइ, शान्तिपूर्ण पुनर्एकता समितिका प्रमुख रि सन गोन सहभागी थिए।
भेटमा किम योङ जोङले उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाका राष्ट्रपतिलाई प्योङयाङ सम्मेलनमा सहभागी हुन दिएको निम्तो पत्र हस्तान्तरण गरेकी राष्ट्रपतिको कार्यालयका प्रवक्ताले जानकारी दिएका छन्।

भेटमा उत्तरको टोलीका लागि दक्षिण कोरियाली राष्ट्रपतिले विशेष भोजकोसमेत आयोजना गरेको बताइएको छ।
प्योङयाङमा छिट्टै हुन लागेको सो अन्तर कोरियाली शिखर सम्मेलन तेस्रो हो। यसअघि किमका पिता तथा तत्कालिन नेता किम जोङ द्वित्तीयले सन् २००० मा तत्कालिन दक्षिण कोरियाली राष्ट्रपति किम दाई–जुङ र सन् २००७ मा रो मु ह्युनबिचमा प्योङयाङमा नै भेटवार्ता भएको थियो।
निम्तोलाई राष्ट्रपति मुनले तत्कालै स्वीकार भने गरेका छैनन्। उत्तरको निम्तोलाई दक्षिणले लामो समयदेखि सैन्य सहयोग दिँदै आएको अमेरिकाको राय नबुझिकन स्वीकार्ने स्थिति नरहेको जानकारहरु बताउँछन्।
गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा नेता किमबीच चेतावनीपूर्ण तथा एक आपसमा अनादर झल्काउने खालका श्रृङ्खलावद्ध भनाईहरू आएका थिए।
उक्त प्रतिनिधिमण्डल दक्षिण कोरियामा शुक्रबारबाट सुरु भएको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन सत्रमा सहभागिताका लागि दक्षिण कोरियाको राजधानी सोल पुगेको थियो।

उत्तरको उच्चस्तरिय टोलीको भ्रमण तथा दक्षिण कोरियाका राष्ट्रपतिसमक्ष भएको भेटघाटलाई दुई कोरियाको इतिहासमा एक महत्वपूर्ण घटनाका रुपमा लिइएको यहाँका स्थानीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमहरुले जनाएका छन्।
पछिल्लो साढे ८ वर्षको इतिहासमा उत्तर कोरियाली उच्चस्तरीय प्रतिनिधिमन्डल दक्षिणको राष्ट्रपति भवन पुगेको यो पहिलो घटना हो। यसअघि सन् २००९ को अगस्टमा दक्षिण कोरियाली राष्ट्रपति किम दाई जोङको स्वर्गारोहण भएको पहिलो वार्षिकीमा समवेदना दिन उत्तरको विशेष टोली दक्षिणको राष्ट्रपति भवन पुगेको थियो।
सो भेटमा दक्षिणका तत्कालिन राष्ट्रपति लि म्योङ ब्याकले उत्तरको समवेदना पत्र ग्रहण गरेका थिए।
३ दिने भ्रमण पुरा गरी उत्तर कोरियाली प्रतिनिधीमन्डल आज स्वदेश फर्किदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।