काठमाडौं– निर्वाचन सम्पन्न भएको दुई महिनापछि निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिकको मतपरिणाम सार्वजनिक गरेको छ। आयोगले दलहरुले पाएको सिटमा नाम सिफारिस गर्न पत्राचार गरेको छ।
दलहरुलाई २९ गते ५ बजेसम्मको समय दिइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
प्रतिनिधिसभाको लागि मंसिर १० र २१ गते दुई चरणमा चुनाव भएको थियो। प्रत्यक्षतर्फको विजयीहरुको टुंगो लागेता पनि समानुपातिक तर्फ भने आयोगले दलहरुको सिटबारे औपचारिक जानकारी दिएको थिएन।
समानुपातिकतर्फ कम्तीमा ३ प्रतिशत थ्रेसहोल्ड कटाउने दलहरुले मात्रै समानुपातिकमा सिट पाउने संवैधानिक प्रावधान छ। जसअनुसार पाँचवटा दलले मात्रै समानुपातिक सिट पाएका छन्।
आयोगले दिएको जानकारी अनुसार समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ तथा राजपा र फोरमले ६र६ सिट जितेका छन्।
कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक तर्फबाट १ सय १० जना निर्वाचित हुने व्यवस्था छ।
आयोगको पत्रपछि दलहरुले समानुपातिक सांसद छान्न गृहकार्य सुरु गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।