काठमाडौं– एक हप्ताअघि महानगरीय प्रहरी परिसर काठमाडौंले बहालवाला सशस्त्र प्रहरी जवान, नेपाल आर्मीका भगौडा, नेत्रविक्रम चन्द (विप्लव) नेकपाका कार्यकर्तासहित लुटपाटमा संलग्न भएको आरोपमा काठमाडौंका विभिन्न ठाउँबाट ८ जनालाई पक्राउ गरेको थियो।
गोरखाको अजिरकोट गाउँपालिकामा घर भई काठमाडौं–१६ मा हाई रेस्टुरेन्ट एन्ड डान्स बार संचालन गर्ने नेपाल आर्मीका भगौडा ३८ वर्षीय कुशल अधिकारी, सोही रेष्टुरेन्टका अन्य सञ्चालकहरु रामबहादुर तामाङ, धर्मराज तामाङ, विजय तामाङ, पिटर तामाङ पक्राउ परेका थिए। त्यसैगरी शसस्त्र प्रहरीका जवान युवराज भण्डारी, विप्लव कार्यकर्ता योर्साङ घले र राजन तामाङ पक्राउ परेका थिए।
उनीहरु रेष्टुरेन्ट सञ्चालनको आवरणमा लुटपाट गर्थे। नवलपरासीको बर्दघाट–१५ घर भएका योगेश विकलाई सस्तोमा सुन दिनेभन्दै होटलमा बोलाएर उनीहरु लुटेका थिए। त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
प्रहरीले लुटेरा समूहबाट चाइनिज पेस्तोल २ थान, सोको म्यागजिन २ थान, गोली ४ राउन्ड, नक्कली सुन १ किलो, फलाम काट्ने औजार १ थान, लुटिएको पर्स, एटिएम कार्ड, मोबाइल २ थान, लुटिएको कपडालगायत पछाडि बोक्ने झोला १ थान, मोटरसाइकल ४ थान, मोबाइल ७ थान बरामद गरेको थियो।
बरामद पेस्तोल ७.६२ एमएमको चाइनिज पेस्तोल हो। उक्त पेस्तोल नेपालका सुरक्षा फौजले बोक्ने पेस्तोल हो। जुन हतियार अन्य पेस्तोलभन्दा सजिलो तरिकाले एकै हातले प्रयोग गर्न सकिन्छ। यस्तो अत्याधुनिक पेस्तोल लुटेराले कहाँबाट ल्याए भन्ने कुरा प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।
सशस्त्र प्रहरीका बहालवाल जवान नै पक्राउ परेपछि उक्त हतियार सशस्त्र प्रहरीको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो। पेस्तोलमा भएका विभिन्न कोड तथा नम्बरहरू समेत कोरेर मिटिएका थिए। जसकारण पनि सुरक्षाकर्मीको पेस्तोल हुने बताएको प्रहरीले अहिलेसम्म त्यो कुरा पुष्टि हुन नसकेको स्रोतले नेपाल लाइभलाई बतायो।
‘यसबारे हामीले पक्राउ परेका लुटेरासँग पनि बुझ्यौ सुरक्षा निकायसँग पनि बुझ्दा उक्त हतियार सुरक्षाकर्मीको नभएको पाइएको छ’ स्रोतले नेपाल लाइभलाई भन्यो।
पक्राउ परेका लुटेरा मध्ये उक्त हतियार आर्मीका भगौडाले बोक्ने गरेको उनैले ल्याएको बताएका छन्। आर्मीका भगौडाले भने दाङका एक व्यक्तिबाट आफूले किनेको प्रहरीलाई बयान दिएका छन्। तर अहिलेसम्म हतियार बेच्ने व्यक्तिसम्म प्रहरी पुग्न सकेको छैन। स्रोतले नेपाल लाइभसँग भन्यो, ‘पक्राउ परेका लुटेराले दाङका एक व्यक्तिसँग हतियार किनेको भन्दै नाम लिएका छन्। तर त्यो कुरा पुष्टि हुन भने बाँकी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।