काठमाडौं- नयाँ सरकार गठन र पार्टी एकतालाई निष्कर्षमा पुर्याउने विषयमा वाम गठबन्धनका शीर्ष दुई नेताले करिब ३ घन्टा 'वान टु वान' छलफल गरेका छन्।
दुवै दलका नेताहरुले पार्टी एकता जटिल मोडमा पुगेको बताइरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले' ललितपुरको एक गोप्य स्थानमा छलफल गरेका छन्।
माओवादी केन्द्रका अध्यक्षको निजी सचिवालयका अनुसार, शीर्ष नेताको छलफलले शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने टुंगो लगाएको छ।
एमाले अध्यक्षको निजी सचिवालयले पनि दुई नेताबीच छलफल भएको पुष्टि गरेको छ।
दुई नेताले नयाँ सरकार गठन र सरकार गठन अगाडि नै एकताको मोडालिटी टुंग्याउने विषयमा छलफल गरेका छन्।
एकीकृत पार्टीको नेतृत्वको विषयमा मिलनबिन्दु नजुट्दा दुई वामपन्थी दलको एकता टाढिएको छ। माओवादी केन्द्रका नेताहरुले एकीकृत पार्टीको नेतृत्व र सरकारको नेतृत्व दुवै पाउन नसक्ने अवस्थामा एमालेसँगको पार्टी एकता जटिल मोडमा पुगेको बताउँदै आएका छन्।
माओवादी केन्द्रले सरकार र पार्टी नेतृत्वमा एउटा रोज्न एमाले अध्यक्ष ओलीलाई आग्रह गर्दै आएको छ। ओली भने नयाँ सरकारको नेतृत्वसँगै एकीकृत पार्टीको अध्यक्ष समेत पाउनुपर्ने अडानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।