धनगढी- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा धेरै समस्या नभएको बताएका छन्।
बिहीबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले दुई पार्टीमा एक से एक नेता भएकाले नेतृत्व कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा दुई दलका अध्यक्षहरुबीच छलफल जारी रहेको बताए।
विचारधाराका हिसाबले एमालेको जनताको बहुदलीय जनवाद र माओवादीले भनेको २१औं शताब्दीको जनवादका विशेषतामा भने फरक नभएको उनको भनाइ छ।
नेता नेपालले लोकतान्त्रिक मूल्य मान्यता, बहुदलीय प्रतिष्पर्धा र समाजवाद उन्मुख बाटो अँगाल्ने दुवै दलको प्रतिबद्धता भएकाले पार्टी एकीकरणमा कुनै समस्या नभएको बताए।
सरकार गठन अगाडि कि पार्टी एकीकरण भन्ने पत्रकारको प्रश्नमा नेता नेपालले आफू पार्टी एकता गरेर सरकार गठन हुनुपर्छ भन्ने पक्षमा भए पनि सरकार गठनको समयसीमा भएकाले पहिले सरकार गठन हुने बताए। उनले निर्वाचन आयोगले समय लगाएन भने फागुन दोस्रो साता नयाँ सरकार बन्ने पनि बताए।
टीकापुर महोत्सवको उद्घाटन गर्न नेता नेपाल कैलाली पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।