भैरहवा- रुपन्देहीमा गोली प्रहारबाट हत्या गरिएका ४० वर्षीय महेन्द्र चौधरीका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन्।
भैरहवास्थित हिमालयन बैकबाट रकम झिकी घर फर्किंर्दै गर्दा भैरहवा-भुमही सडकखण्डको रोहिणी-३, बैकुण्ठपुरमा लुटेरा समूहको गोली प्रहारबाट चौधरीको घटनास्थलमा मृत्यु भएको थियो।
रुपन्देहीको ओमसतिया गाँउपालिका-५ का ४० वर्षीय महेन्द्र चौधरीलाई बैकुण्ठपुरस्थित सडक किनारामा गोली प्रहार गरी हत्या गरिएको हो। उनको शव भैरहवास्थित भीम अस्पतालमा पोष्टमार्टम गरी घरमा लगिएको छ।
भैरहवादेखि करिब ५ किलोमिटर दूरीमा पूर्वतर्फ पर्ने भैरहवा-भुमही-परासी सडकखण्डको बैकुण्ठपुरमा लुटेरा समूहले उनीमाथि गोली हानेका थिए। सुरुमा सडक किनारामा गोली हानेर मोटरसाइकल पल्टिएपछि भागेर बाँच्न खोज्दै नजिकैको घरभित्र पस्न खोज्दा च्यानल गेटअघि नै महेन्द्रमाथि गोली प्रहार भएको उनकी श्रीमती विजयलक्ष्मी चौधरीले जानकारी दिइन्।
श्रीमती र छोरासहित लु९प ८२३५ नम्बरको मोटरसाइकलमा चढेर भैरहवाबाट घरतर्फ जाने क्रममा आइतबार दिउँसो साढे २ बजे महेन्द्रमाथि गोली प्रहार गरिएको थियो।
मृतक चौधरीलाई खुट्टा, हात र ढाडमा गरी ३ वटा गोली लागेको छ। उनको घटनास्थलमा नै मृत्यु भएको हो। श्रीमती र छोरा भने सकुशल छन्।
महेन्द्रलाई गोली लागेपछि मोटरसाइकल सडक किनारामा ढलेको थियो। महेन्द्रसँगै मोटरसाइकलमा रहेका श्रीमती र छोरा सडक किनारामा ढलेका थिए।
मध्य दिनमा मुख्य सडकमा भएको गोली प्रहारको घटनापछि चारै तर्फका सीमा नाका तथा अन्य सम्भावित स्थानमा चेकजाँच कडा पारिएको रुपन्देही प्रहरीले जनाएको छ।
प्रहरी श्रोतका अनुसार भैरहवामा राखिएका ८ वटा सिसिटिभी क्यामेराको फुटेज संकलन गरेर अनुसन्धान थालिएको र केही जानकारी फेला पारिएको छ। श्रोतका अनुसार भारतीय मुलका जस्ता देखिने ती लुटेराको पहिचानका लागि अनुसन्धान जारी रहेको छ।
घटनाको भर्त्सना गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विभिन्न राजनैतिक दल तथा स्थानीय तहले तत्काल हत्यारा पत्ता लगाई कडा कारबाहीको माग गरेका छन्।
कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले विज्ञप्ति जारी गर्दै दिनदहाडै भएको व्यक्ति हत्याको घटनाले स्थानीयमा त्रास फैलिएको भन्दै शान्ति सुरक्षाको प्रत्याभूति दिल्याउन सरकारसँग माग गरे। रज्जाकले अपराधीलाइ कडा सजाय दिलाउन र पीडित परिवारलाइ उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत माग गरेका छन्।
यस्तै घटनालाई लिएर रोहिणी गाउँपालिकाको ध्यानाकर्षण भएको अध्यक्ष सनोज कुमार यादवले जनाए। अध्यक्ष यादवले प्रेस विज्ञप्ति जारी गर्दै रोहिणी गाउँपालिका-३, बैकुण्ठपुरमा भएको घटनाले समग्र रोहिणी गाउँपालिका शोकमा परेको जनाएका छन्।
सिमित रकमको लोभमा दिनदहाडै भएको हत्याले जिल्लाको समग्र शान्तिसुरक्षाको अवस्था माथिनै प्रश्न चिन्ह खडा गरेको भन्दै घटनालाई निरुत्साहित गर्न चाँडोभन्दा चाँडो अपराधीलाई कानुनी कठघरामा ल्याउन गाँउपालिकाले माग गरेको छ।
त्यस्तै, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टीलगायतले घटनाको भर्त्सना गरेका छन्।
चौधरीको हत्यारा पत्ता नलागे कडा आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।