काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्षले महासचिवलाई दलको जिम्मेवारीबाट बर्खास्त गरिदिएका छन्।
अध्यक्ष जितजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाहीलाई दलको सबै जिम्मेवारीबाट मुक्त गरेका हुन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले महासचिव शाहीलाई हटाएको जानकारी गराएका हुन्।
पदीय मर्यादा, जिम्मेवारी र आचरणविपरीत काम गरेको भन्दै हटाएको जानकारी अध्यक्षले जारी गरेको वक्तव्यमा उल्लेख छ।
यसअघि कार्यकाल सकिन लागेको तरुण दलमा अध्यक्ष र महासचिवको विवाद उत्कर्षमा पुगेको थियो।
अध्यक्ष जितजंग बस्नेतले भ्रष्टचारविरोधी गतिविधिलाई बेवास्ता गर्दै आएको भन्दै महासचिव भुपेन्द्रजंग शाहीले भदौ २२ मा विज्ञप्ति निकालेपछि विवाद सतहमा आएको थियो।
यस्तो छ अध्यक्ष बस्नेतले महासचिवलाई हटाएको बारे विज्ञप्ति
यता महासचिव भुपेन्द्रजंग शाहीले भने अध्यक्ष बस्नेतलाई नै कारबाही गर्ने जानकारी दिएका छन्।
नेपाल लाइभसँग कुराकानी गर्दै महासचिव शाहीले अध्यक्ष बस्नेतलाई कारबाही गर्ने सम्बन्धमा पार्टीका नेताहरूसमेत छलफल भइरहेको बताएका छन्।
'निर्वाचित महासचिवलाई जितजङ्ले हटाउन सक्दैनन्। पार्टी नेताहरुसँग छलफल गरेर उनलाई मैले हटाइदिन्छु। उनी भ्रष्ट व्यक्ति हुन्,' महासचिव शाहीले भने, 'पोहोर साल बाढी पीडितलाई उठाएको राहत रकम बाढी पीडितलाई सहयोग गरेनन्। उक्त मुद्दा लिएर अख्तियारमा उजुरी गर्छु।'
आफू निर्वाचित महासचिव भएको र आफूलाई कांग्रेस पार्टीले मात्र हटाउन सक्ने बताउँदै उनले अध्यक्षको कदमको आलोचना गरेका छन्।
साथै अध्यक्षको निर्णय कार्यान्वयन नहुने समेत दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।