काठमाडौं- नागरिकता सम्बन्धी विधेयकमा आज पनि सहमति जुट्न नसकेपछि संसदको राज्य व्यवस्था समितिको बैठक भोलि पुन: बस्ने भएको छ।
शनिबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित राजपा र समाजवादी पार्टीका सांसदहरुले फरक मत राखेपछि सत्ता पक्षका सांसदहरुले फरक मतमा छलफल हुन नसक्ने अडान लिएका थिए। सत्ता पक्षको अडानपछि कांग्रेसले समितिकी सभापति शशि श्रेष्ठलाई बुझाएको फरक मत फिर्ता लिई 'फरक प्रस्ताव'का रुपमा पुन पेस गरेको थियो।
बिहे गरी भित्रिएकी विदेशी महिलालाई नागरिकता दिने विषयमा मूल विवाद छ। विदेशी महिलालाई बिहेपछि ७ वा १५ वर्षपछि अंगीकृत नागरिकता प्रदान गर्नेमा मतैक्यता हुन सकेको छैन।
कांग्रेस, राजपा र समाजवादी पार्टीका शीर्ष नेताहरुले सत्तारुढ नेकपाका शीर्ष नेताबीच छलफल गरी भोलिसम्म यो विषयलाई सहमति पुर्याउने निष्कर्षसहित आजको बैठक सकिएको हो।
सुरुमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू, मीना पाण्डे, देवेन्द्रराज कँडेल, डा अमरेसकुमार सिंह, डा डिला संग्राैला र विनोदकुमार चौधरीले फरक मत राखेका थिए।
राजपाका राजकिशोर यादव र समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले पनि फरक मत पेस गरेका थिए।
नेपाली कांग्रेस भने नागरिकता सम्बन्धी विधेयकमा नागरिकता ऐन २०६३ कै पक्षमा छ। नागरिकता ऐनको दफा ५ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी महिलाले नेपाली नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्ने उल्लेख छ। नेपाली नागरिकता प्राप्त गर्नलाई विदेशी नागरिकता त्यागेको पुष्टि हुने कागजात पेस गर्नुपने व्यवस्था छ। प्रतिपक्षी दल कांग्रेसले सोही व्यवस्था कायम हुनुपर्ने धारणा बनाएको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।