काठमाडौं- विवादित बन्दै आएको नागरिकता सम्बन्धी विधेयकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले लिखित रुपमा फरक मत पेस गरेका छन्।
संसदको राज्य व्यवस्था समितिको आजको बैठकमा कांग्रेसका ६ सांसदले फरक मत राखेका हुन्। नागरिकता सम्बन्धी विधेयकमा नागरिकता ऐन २०६३ कै पक्षमा कांग्रेस रहेको छ।
फरक मत राख्नेहरुमा दिलेन्द्रप्रसाद बडू, मीना पाण्डे, देवेन्द्रराज कँडेल, डा अमरेसकुमार सिंह, डा डिला संग्राैला र विनोदकुमार चौधरी छन्। उनीहरुले फरक मतसहितको पत्र समितिकी सभापति शशि श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।
कांग्रेससहित राजपाका राजकिशोर यादव र समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले पनि फरक मत राखेका छन्।
कांग्रेसबाट फरक मत आएपछि जारी बैठक २० मिनेटका लागि स्थगित गरिएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार साँझ बसेको बैठकले समेत नाागरिकता ऐन २०६३ को प्रावधानलाई निरन्तरता दिनुपर्ने अडान राख्ने निर्णय गरेको थियो।
संसदको राज्य व्यवस्था समितिमा भइरहेको छलफलमा बिहे गरी भित्रिएकी विदेशी महिलालाई नागरिकता दिने विषयमा विवाद उत्पन्न भएको छ। विदेशी महिलालाई बिहेपछि ७ वा १५ वर्षपछि अंगीकृत नागरिकता प्रदान गर्नेमा मतैक्यता हुन सकेको छैन।
नागरिकता ऐनको दफा ५ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी महिलाले नेपाली नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनुपर्ने उल्लेख छ। नेपाली नागरिकता प्राप्त गर्नलाई विदेशी नागरिकता त्यागेको पुष्टि हुने कागजात पेस गर्नुपने व्यवस्था छ। प्रतिपक्षी दल कांग्रेसले सोही व्यवस्था कायम हुनुपर्ने धारणा बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।