श्रीनगर- केही समययता श्रीनगरका अधिकांश इलाका सुनसान छ। तर, लल दद्य अस्पताल हातामा भने चहलपहल कम भएको महसुस हुँदैन।
काश्मीरमा छाएको तनाव यो अस्पतालमा नपरेको भने होइन। श्रीनगरकै सबैभन्दा ठूलो प्रसुति अस्पतालमा आफ्ना सन्तानलाई जन्म दिन आएका आमाको अनुहारमा उत्साह भन्दा बढी उदासी प्रष्ट रुपमा देख्न सकिन्छ।
केही दिनअघि मात्र जन्मदिएकी छोरीलाई छातीमा टाँस्दै एक महिला भन्छिन्, ‘मेरी छोरी निकै मुश्किल समयमा यो संसारमा आएकी छिन्, अल्लाहले यिनलाई सुन्दर जिन्दगी देउन्।’
‘हामी जुन माहोलमा हुर्कियौँ, त्यही माहोलमा मेरा सन्तानलाई हुर्कन नपरोस् भन्ने चाहेका थियौँ,' पहिलो पटक आमा बनेकी समीरा भन्छिन्, ‘यो समयमा म शान्तिको मात्र कामना गरिरहेकी छु।’
लल दद्य अस्पतालको तथ्यांक हेर्ने हो भने यहाँ हरेक दिन एक सयभन्दा बढी शिशुले जन्म लिन्छन्।
अस्पतालकी एक डाक्टरले गर्भवती र सुत्केरीका लागि कुनै किसिमको समस्या नहोस् भनेर अस्पताल प्रशासनले हरसम्भव प्रयास गरेको बताउँछिन्। अस्पताल पुगेपछि गर्भवतीलाई सन्तोषजनक सुविधा प्राप्त हुने भए पनि श्रीनगरका महिलालाई त्यहाँसम्म पुग्न नै ठूलो चुनौती छ।
अस्पतालसम्म पुग्न सवारीसाधन नपाइनु र पाए पनि ठाउँ-ठाउँमा हुने जाँचले प्रश्रव पीडामाथि थप पीडा थप्ने गरेको उनीहरुको गुनासो छ।
गत अगस्त ५ मा जम्मु-काश्मीरमाथि रहेको विशेषाधिकारको संवैधानिक व्यवस्था खारेजीपछि भारतको केन्द्र सरकारले शासन गरिरहेको छ।
योसँगै भारत प्रशासित काश्मीर उपत्यकामा निकै कडा बन्देज लगाएको छ। यहाँ कर्फ्यु लगाइनुका साथै इन्टरनेट तथा टेलिफोन सेवा समेत अवरुद्ध गराइएको छ।
हाल केही स्थानमा टेलिफोनलगायतका सञ्चार सेवा सुचारु गरिएको छ भने केही स्थानमा विद्यालय तथा सरकारी कार्यालयहरु खुलेका छन्।
कर्फ्यू लाग्दाको श्रीनगरको राजमार्ग क्षेत्र।
यो अवस्थाले त्यहाँका नागरिक निकै समस्यामा रहको देखाउँछ। उनीहरुमध्ये पनि सबैभन्दा धेरै असर महिला र बच्चाहरुमा परेको देख्न सकिन्छ।
‘निकै कष्टका साथ अस्पताल आइपुग्यौँ, गाडीमा बिरामी देख्दादेख्दै पनि हामीलाई विभिन्न ठाउँमा रोकेर दुःख दिइयो,’ सोही अस्पतालमा भर्ना हुनका लागि पालो पर्खिरहेकी एक गर्भवती महिलाले भनिन्, ‘आशा छ यो सबै चाँडै ठीक हुनेछ।’
ग्रामिण क्षेत्रबाट श्रीमतीलाई सुत्केरी गराउन ल्याएका एक व्यवक्तिले सरकारी बन्धनका कारण उपचार गराउन र औषधि किन्न समस्या भएको बताए।
‘सबैभन्दा बढी समस्या गर्भवती महिलालाई छ। अस्पताल जानका गाडीसमेत पाइएको छैन,’ काश्मीरको ग्रामिण क्षेत्रमा दुई महिना बसेर कतार फर्किन लागेकी एक महिलाले अनुभव सुनाइन्।
गर्भवती महिलालाई मात्र होइन कि ग्रामिण क्षेत्रका सबै बिरामी मानिसहरुका निम्ति पनि समय निकै खराब भएको उनीहरुको बुझाइ छ।
श्रीनगरको जिबी पन्त अस्पताल बाहिर छोरीलाई काखमा लिएर बसेकी एक महिलाले आफ्नी छोरीका लागि सबै राम्रो होस् भन्ने सोचे पनि खराब अवस्थाका कारण भविष्य अन्धकार मात्र देख्ने गरेको भन्दै चिन्ता व्यक्त गरिन्। उनले बच्चाको विद्यालय लामो समयदेखि बन्द भएका कारण पठनपाठन ठप्प भएका करण पनि निक्कै चिन्ता लागेको बताइन्।
पुरुषहरु जसोतसो घर बाहिर निस्कन्छन्। तर, महिलाहरु पूर्णरुपमा घरभित्रै कैद छन्। जसका कारण उनीहरुमा क्रोध र नैराश्यता बढेको छ।
घरमा खाद्यसामग्रीको भण्डार रित्तिन लागिसकेको प्रति गृहणीहरुको चिन्ता छ। ‘हामी घरमा मर्न लागिसक्यौँ, तर यसबारे कसैलाई मतलव छैन,’ एक गृहणीले आक्रोश पोखिन्। यसो भन्दै गर्दा उनको अनुहारमा गुनासो सँगसँगै अधिक मात्रामा आक्रोश झल्किएको थियो।
‘यहाँ केही पनि ठीक छैन। अत्याचार यति धेरै बढेको छ कि बच्चा पेटमै मर्न लागिसके। किनभने गर्भवति महिला अस्पताल नै पुग्न पाइरहेका छैनन्,’ उनले थपिन्।
सबैभन्दा धेरै रीस त उनलाई सञ्चारमाध्यमका ती खबरसँग उठ्छ जसमा काश्मीर उपत्यकामा सबै सामान्य भएको दाबी गर्दै ठूलो स्वर र अक्षरमा प्रशारण गरिएका हुन्छन्।
‘ती समाचार आउँदा मलाई टिभी नै फुटाइदिऊँ जस्तो हुन्छ,’ चर्को आवाजमा उनले भनिन्, ‘यदि सरकारले हामीसँग कुरा गरी हाम्रो कुरा सुने त हामी खुसी-खुसी भारतको साथ रहन्थ्यौँ नि।’
मोबाइल र इन्टरनेट सेवा बन्द गरेपछि यसको असर पनि महिलाको मानसिक स्वास्थ्यमा परिरहेको छ। श्रीमान् घर बाहिर निस्के भने महिलालाई उनीहरु ठीक छन् कि छैनन् भनेर चिन्ता हुने गरेको उनीहरु बताउँछन्।
एक जना व्यापारीले टेलिफोन सुविधामात्र दिएको भए पनि केही सहज हुने बताउँदै भने, ‘मेरी आमा दिनभर ढोकाको छेउ बसेर मेरो घर फर्किने बाटो हेरिरहनुहुन्छ, अहिले टेलिफोन सेवामा आंशिक फुकुवा गरिएपछि दिनमा धेरैपटक फोन गरेर हालचाल सोध्नुहुन्छ।’
त्यसो त काश्मीरका महिलाका लागि पहिले पनि सहज अवस्था भने थिएन। तर, अहिले त झन असह्य हुन थालेको छ। पछिल्लो केही हप्तादेखि घरभित्रै बन्दीजस्तै भएको उनीहरुको अनुभव छ। घरभित्रै कैद भएको अनुभव सुनाउँदै एक महिलाले भनिन्, ‘सास रोकिएलाजस्तो हुन्छ। घरबाहिर हेर्दा सुनसान सन्नाटा मात्रै देखिन्छ।’
(श्रीनगरबाट फर्किएपछि बिबिसी हिन्दीका लागि पुनम कौशलले तयार पारेको यो सामग्री कल्पना पौडेलले भावानुवाद गरेकी हुन्। मुख्य तस्बिर- राकेश बक्सी, गेट्टी इमेज)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।