काठमाडौं– नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले स्वास्थ्यमन्त्रीको राजीनामा मागेका छन्।
बिहीबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गौतमले मुलुक डेंगुले आतंकित र आक्रान्त भएकाले संकटकाल घोषणा गर्न समेत माग गरे।
'रुलिङ गरेर झारा टार्ने र कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उखानलाई चरितार्थ गरेर मात्र पुग्दैन', उनले भने, 'त्यसैले म जोडदार रुपले स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्छु। सरकार यसरी मुकदर्शक बनेर बस्न मिल्दैन। संकटकालको घोषणा गरेर अघि बढ्नुपर्छ।'
डेंगु नियन्त्रणमा सरकार कुम्भकर्णको निद्रामा सुतेको उनले आरोप लगाए।
'यत्रो ठूलो विरोध र आक्रोश देख्दा पनि खालि रुलिङ गरेर मात्र पुग्दैन। स्वास्थ्यको जिम्मा लिएर बस्नुभएका मन्त्रीजी कहाँ हुनुहुन्छ? अब त प्रधानमन्त्री पनि स्वदेशमा आइसक्नुभयो। यतिबेला चुप लागेर बसेर, रुलिङ गरेर, टेबुल ठोकेर र सत्तापक्षका साथीहरुले विरोध जनाएर मात्रै पुग्दैन। दुई तिहाइको सरकार हो यो। यतिबेला गर्न नसकेको, सुशासन दिन नसकेको कसले दिनसक्छ?', उनले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।