काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकार बढ्ने भएको छ। युवा संघ र वाइसिएललाई एकीकृत गर्ने क्रममा राष्ट्रिय युवा संघको केन्द्रीय समिति ३ सय ३५ सदस्यीय बन्ने भएको हो। आकार बढाउनका लागि पार्टीसँग अनुमति मागिएको संयोजक रामप्रसाद सापकोटा र सह-संयोजक रमेश पौडेलले बताए।
'३ सय ३५ सदस्यीय बनाउनका लागि पार्टीसँग अनुमति मागियो। ४ जना पछि थपिने गर्नेगरी साविक युवा संघबाट १ सय ७६ र तत्कालीन वाइसिएलबाट १ सय ५५ जना सदस्य कायम रहने गरी भागवण्डा गरिएको छ। हाल ३ सय ३१ सदस्यको टुंगो लागिसकेको छ,' सापकोटाले जानकारी दिए।
युवा संघ नेपालबाट ५७ सदस्य र वाइसिएलबाट ५२ सहित सचिवालय १ सय ११ सदस्यीय बनाइएको छ। विधानतः केन्द्रीय समितिको एक तिहाइ सदस्य सचिवालयमा रहने व्यवस्था छ। केन्द्रीय कार्यालयमा ९ सदस्यका लागि युवा संघबाट ५ र वासिएलबाट ४ सदस्य चयन गरिएको छ।
४ प्रदेशको नेतृत्व युवा संघ र बाँकी प्रदेशको नेतृत्व वाइसिएलले पाएको छ। ४२ जिल्लामा युवा संघबाट र ३५ जिल्लामा वाइसिएलले संगठनात्मक नेतृत्वको जिम्मेवारी पाएका छन्। संगठनको केन्द्रीय कार्यालय पूर्व नेकपा (माओवादी केन्द्र)को केन्द्रिय कार्यालय पेरिसडाँडामा रहनेछ।
पार्टी एकीकरणको क्रममा युवा संगठनको इन्चार्ज तत्कालीन नेकपा (एमाले)बाट महेश बस्नेतले पाएका छन्। संयोजकको पद पूर्व माओवादीका तर्फबाट सापकोटाले र सह-संयोजक पूर्व एमालेबाट पौडेलले पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।