अर्बिन- सिरियाली राजधानी दमास्कस नजिक सुरक्षाफौजबाट भएको हवाई कारबाहीमा परी कम्तीमा ३० जना सर्वसाधारणको मृत्यु भएको छ।
सिरियामा जारी करिब सात वर्ष लामो द्वन्द्वको क्रममा ठूलो संख्यामा सर्वसाधारण मारिएका हुन्। पछिल्लो समयमा फेरि यहाँ नागरिकमाथिको हमलाका कार्यहरु निरन्तरजस्तै हुन थालेका छन्।
सिरियाली सरकारी सैनिकले विद्रोहीको बलियो प्रभाव रहेको भनिएको क्षेत्रलाई लक्षित गरी विषाक्त रासायनिक हातहतियार समेत प्रयोग गर्दै आएका र यसबाट पनि धेरै सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्।
यसै हप्ता पनि विपक्षीको बलियो प्रभाव रहेको दमास्कसनजिकैको पूर्वी इलाका घोउटामा धेरै पटक सरकारी सुुरक्षाफौजबाट विषाक्त ग्याँस आक्रमण गरेको संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ।
सोमबार भएको सो घटनाको सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सले समेत पुष्टि गरेको थियो।
यस कारबाहीमा परी २९ सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य दर्जनौ घाइते भएका अब्जरभेटरीका प्रमुख रामी अब्दुल रहमानले बताएको एएफपीले लेखेको छ।
यस आक्रमण परी मारिनेमा केही बालबालिका समेत रहेका रहमानले जानकारी दिएका थिए। तर कति जना बालबालिका परेका छन् भन्ने बारेमा भने केही थाहा हुन नसकेको उनको भनाई छ।
सिरियामा सन् २०११ को मार्चबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो।
यस गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स हावी हुदै गएको छ।
सन् २०११ देखि हालसम्म जारी रहेको यस सिरियाली द्वन्द्वमा परी ३ लाख ४० हजार भन्दा बढी व्यक्ति मारिएका छन्।
त्यसैगरी यस द्वन्द्वमा परी धेरैको संख्यामा सिरियाली नागरिक घाइते भएका छन् भने लाखौँ मानिस घरवार छोडी आफ्नै देश र छिमेकी देशमा शरणार्थी जिवन विताउन बाध्य भएका छन्।
यहाँको द्वन्द्वको समाधानका लागि हालैमात्र पनि संयुक्त राष्ट्रसंघको पहलामा शान्तिवार्ता भएको थियो। तर सो वार्ता प्रयास पनि यसअघिजस्तै सफल हुन सकेन। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।