काठमाडौं- माल्दिभ्स सरकारले संकटकाल घोषणा गरेपछि विश्व समुदायको ध्यानाकृष्ट भएको छ। गएराति माल्दिभ्सको राष्ट्रपति कार्यालयले १५ दिनको लागि संकटकाल घोषणा गरिएको जनाएको थियो।
घोषणापछि भारत, अमेरिका तथा बेलायतले माल्दिभ्स सरकारको कदमपछि गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
भारतीय विदेश मन्त्रालयले माल्दिभ्समा केही दिनयता उत्पन्न राजनीतिक गतिरोध भारतका लागि पनि चासोको विषय भएको बताएको छ।
भारतीय विदेश मन्त्रालयले त ट्राभल एड्भाइजरी नोटिससमेत जारी गरेको छ।
‘अर्को सूचना नआएसम्म अत्यावश्यक कामबाहेक भारतीय नागरिकलाई माल्दिभ्समा नजान सूचित गरिन्छ। माल्दिभ्समा रहेका भारतीयहरुलाई सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आफ्नो कामकारबाही सञ्चालन गर्न तथा भिडभाडमा सामेल नहुन आग्रह गरिन्छ,’ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्ले संकटको यो समयमा अमेरिका माल्दिभियन जनताको साथमा रहेको आश्वस्त पारेको छ। ट्विटरमा जारी सूचनामा भनिएको छ, ‘माल्दिभ्स सरकार र सेनाले कानुन, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक संविधानको सम्मान गरोस्।’
अमेरिकाले माल्दिभ्स सरकारलाई सचेत गराउँदै भनेको छ, ‘विश्वले हेरिरहेको छ।’
त्यस्तै बेलायतका विदेश सचिव बोरिस जोन्सनले माल्दिभ्स सरकारले तत्कालै संकटकाल हटाउनुपर्ने बताएका छन्। उनले भने, ‘माल्दिभ्समा लोकतन्त्रका लागि भन्दै गरिने गल्ती तथा संसदको लगातार दुरुपयोग गर्ने प्रक्रिया चिन्ताको विषय हो।’
सरकारले यो समयमा केही अधिकार कटौती गरेको छ भने जनताको सामान्य दैनिकी, सेवा तथा व्यापार भने निर्वाध रुपमा सञ्चालन हुने बताइएको छ।
संकटकाल अवधिभर ठूलो संख्यामा एकै स्थानमा जम्मा हुन, सभा, समारोह गर्नसमेत रोक लगाइएको छ।
देशका आम नागरिक र विदेशीहरुको सुरक्षाका लागि माल्दिभ्स सरकार कटिबद्ध रहेको जनाइए पनि प्रतिपक्ष दलका केहि नेता, कार्यकर्ता तथा सरकारका लागि बाधक बन्नेलाई माल्दिभियन प्रहरीले पक्राउ गर्नसक्ने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।