काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा जारी तालिवानी समूहसँगको वार्ता रद्द गरेको घोषणा गरेका छन्।
अफगानिस्तानमा हालै भएको आक्रमणको जिम्मा तालिबानी समूहले लिएपछि राष्ट्रपति ट्रम्पले तालीवानी नेतासँगको वार्ता रद्द गरेको बताएका छन्।
काबुलमा बिहीबार भएको आक्रमणमा परी १२ जनाको ज्यान गएको थियो।
शृंखलाबद्ध ट्विट गर्दै ट्रम्पले अफगानिस्तानमा जारी शान्ति वार्ता रोकेको र तालिवानका मुख्य नेताहरुसँगको गोप्य वार्ता रद्द गरेको घोषणा गरेका हुन्।
यसअघि राष्ट्रपति ट्रम्पले तालीवानी नेताहरुसँग मेरिल्यान्डस्थित क्याम्प डेभिडमा गोप्य वार्ता गर्ने कार्यक्रम तय भएको थियो। सो वार्ता भंग भएपनि राष्ट्रपति ट्रम्पले अफगानिस्तानका राष्ट्रपतिसँग भने भेट्ने योजना रहेको बताएका छन्।
‘मैले तत्कालै भेटवार्ता रद्द गरेँ र शान्ति वार्ता रोकेँ,’ ट्रम्पले शनिबारको ट्विटमा भनेका छन्, ‘यदि महत्वपूर्ण शान्ति वार्ताका क्रममा पनि उनीहरुको युद्वविराम गर्दैनन् र अझैँ १२ जना निर्दोष मार्छन् भने उनीहरुसँग अर्थपूर्ण सहमति गर्ने सामर्थ्य छैन।’
तर, अमेरिका र तालिबानबीचको वार्ता स्थायी रुपमै रोकिएको हो वा अस्थायी मात्रै हो भन्ने स्पष्ट भइसकेको छैन।
राष्ट्रपति ट्रम्प अफगान सरकार, राजनीतिज्ञ र तालिवानलाई विश्वास नगर्ने र सम्झौताअघि नै अमेरिकी फौज फिर्ता गर्नुपर्छ भन्ने मत राख्ने उनकै प्रशासनका केही सदस्यका कारण दबाबमा छन्।
अघिल्लो साता तालिवान र अमेरिका अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने सम्झौतामा प्रारम्भिक सहमतिमा पुगेका थिए।
प्रस्तावित सहमतिको मस्यौदामा अमेरिकाले ५४ सय सेना २० साता भित्र फिर्ता लिने र तालिवानले अफगानिस्तानलाई कहिले पनि प्रयोग नगर्ने उल्लेख थियो।
अफगानिस्तानमा अहिले १४ हजार अमेरिकी सेना परिचालित छन्।
चीन, पाकिस्तान र अफगानिस्तानको सहमति
यसैबीच अफगानिस्तानको शान्ति वार्ताका विषयमा चीन, पाकिस्तान र अफगानिस्तान बृहत्तर सहमतिमा पुगेका छन्।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार शनिबार तिनै देशका विदेशमन्त्रीबीच इस्लामावादमा भएको संवादमा उनीहरु अफगानी राजनीतिक मेलमिलापमा सघाउने, क्षेत्रीय सम्पर्कलाई बढाउने र क्षेत्रीय साझा विकासलाई सघाउने विषयमा सहमतिमा पुगेको बताएका छन्।

तीनै पक्ष अफागानिस्तानको अवस्था निर्णायक क्षणमा पुगेकोमा सहत भएका छन्। त्यस्तै अफगानिस्तानमा स्थिर संक्रमणका लागि क्रमिक र जिम्मेवार रुपमा विदेश शक्ति बाहिरिनुपर्नेमा पनि एकमत भएका छन्।
अफगानिस्तानमा जारी शान्ति वार्तालाई लिएर शनिबार चिनियाँ विदेश मन्त्री वाङ यी, पाकिस्तानी विदेशमन्त्री साह मोहमद कुरेसी र अफगानी विदेशमन्त्री सलहुद्दिन रब्बानीले इस्लामाबादमा जमघट गरेका थिए।
चीन र पाकिस्तान अफगानी सरकार र तालिबान शान्ति वार्तामार्फत् मेलमिलामा पुग्न सक्छन् भन्ने विश्वास राख्छन्। जसका लागि देशभित्रका सबै राजनीतिक दल समेत सहमत हुने संवादको संयन्त्र बनाउनुपर्ने उनीहरुको मत छ।
यो पनिः
के अफगानिस्तानमा अन्त्य हुँदैछ १८ वर्षदेखिको युद्ध?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।