ब्रसेल्स- सन् २०१५ मा फ्रान्समा भएको आतंकवादी हमलाका एक मात्र जीवित आरोपी सलाह अब्देसलमलाई कानुनी सोधपुछका लागि बेल्जियन कोर्टमा उपस्थित गराइएको छ।
उनलाई बेल्जियममा पुलिससँगको दोहोरो फायरिङमा सामेल भएको आरोपमा सोधपुछ गर्न आज अदालत उपस्थित गराइएको हो।
उनलाई घटना भएको ४ महिनापछि गृहजिल्ला मोलेनबिकको ब्रसेल्सस्थित आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको थियो।
तर यसपटक उनलाई फ्रान्समा भएको आक्रमणको बारेमा भने सोधपुछ हुने छैन। फ्रान्सको आक्रमणको बारेमा सोधपुछ गर्न उनलाई कम्तिमा सन् २०२० भन्दाअघि सुपुर्दगी नगरिने बेल्जियम सरकारले जनाएको छ।
पेरिसस्थित बाटाकान कन्सर्ट हल, स्टाडी डे फ्रान्स स्टेडियम, लि क्यारिलोन क्याफे एण्ड बारमा आत्मघाती बमहमला तथा अन्धाधुन्ध गोली प्रहार गर्दा १ सय ३० जनाको मृत्यु भएको थियो। सो आतंकवादी हमलामा परि १ सयभन्दा बढि घाइते भएका थिए।
सो घटनामा सलाहका दाजु ब्राहिमले आत्मघाती विस्फोट गराएको पुष्टि भएको थियो।
२८ वर्षिय सलाहले सो हमलामा आफ्नो कुनै पनि संलग्नता नरहेको बताउँदै आएपनि फ्रान्सेली अनुसन्धानकर्ताहरुले भने उनलाई पनि मुख्य दोषी मान्दै आएका छन्।
आजबाट सुरु भएको सो सोधपुछमा उनीसँगै घटनाका अर्का सन्दिग्ध आक्रमणकारी २४ वर्षिय सोफियान ऐयारीलाई पनि सामेल गराइएको छ। उनीहरुमाथि अवैध हातहतियार राखेको तथा प्रहरी अधिकृतको हत्या गर्ने प्रयास गरेको आरोप लगाइएको छ।
सो घटनामा दोषि ठहरिएमा उनलाई ४० वर्षसम्मको सजाय हुनसक्नेछ।
सलाहका अभिभावक मोरक्कोका नागरिक हुन्। उनी बेल्जियममा जन्मेका हुन्। तर नागरिकता भने फ्रान्सको लिएका छन्।
पछिल्लो ४ दिनदेखि सोहि सोधपुछलाई लिएर बेल्जियन अदालतको वरपर करिव २ सयभन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।