वीरगञ्ज- पर्साको बिन्दसाविनी गाउँपालिकाले घरमा चर्पी नबनाउने व्यक्तिलाई सरकारी सुविधाबाट वञ्चित गर्ने उर्दी गरेको छ।
गाउँपालिकाले तीन दिनभित्र आ–आफ्नो घरमा चर्पी नराखेमा सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता लगायतका सिफारिस रोक्ने र जरिवाना समेत गर्ने उर्दी गरेको गाउँपालिका सचिव अर्जुनप्रसाद चौहानले बताए।
सो गाउँपालिका–५ मा आठ हजार जनसंख्या छ भने उक्त वडामा ९० प्रतिशत घरमा शौचालय भए पनि १० प्रतिशतले शौचालय राख्न आनाकानी गरेपछि गाउँपालिकाले यस्तो कदम चालेको हो।
आउँदो चैत महिनासम्ममा पूरै गाउँपालिकालाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको जानकारी दिंदै अध्यक्ष श्रीलाल साह कानुले चर्पी नबनाउनेलाई सामाजिक तथा आर्थिक जरिवाना गर्ने भएकाले धमाधम चर्पी बनाउन थालेका बताए।
सुरुमा चेतनाको कमीका कारण गाउँका मानिस खुला चौरमा दिसापिसाब गर्ने गदथे तर अब गाउँपालिकाले कडाइ गर्न थालेपछि सबैले आ–आफ्ना घरमा चर्पी राख्न थालेको वडा नम्बर ५ की बदरुनेसा खातुनले बताइन्। चर्पी बनाउन गाउँपालिकाले चर्पीका लागि आवश्यक पर्ने सिटलगायतका सामग्री उपलब्ध गराउँदै आएको छ।
गाउँपालिका दिसामुक्त क्षेत्रका लागि घर घरमा २०७० सालदेखि विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेकाले गाउँपालिकाले कडाइ गरेको हो।
वडा नम्बर १ देखि ५ सम्म रहेको सो गाउँपालिकालाई दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको जनाइएको छ। गाउँपालिकाले तीन दिनभित्र शौचालय राख्न उर्दी जारी गरेकाले वडा नम्बर ५ का बासिन्दाले धमाधम चर्पी राख्न थालेका छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।