इटहरी- खपिनसक्नुको गर्मी। कोशी नदीको सुस्साहट पनि उस्तै सुनिएको छ। घर आँगनमै रहेको सिरिशको बोटले पन्चलाल मुखियालाई गर्मीबाट केही राहत दिएको छ।
सेतो गन्जी, पहेँलो कट्टु लगाएका पन्चलाल माछा मार्ने जाली बुन्दैछन्। रुखमा बाँधेर जाल बुनिरहेका उनले त्यही जालबाट जीवनको व्यवहारिक जालो पन्छाउँदै आएका छन्। साहुको हिसाब गन्ति गर्नु र परिवार पाल्न उनका लागि सोही जालको मात्रै भर छ। रुखले घामबाट र रुखमा झुन्डिएको जालले साहुबाट छहारी दिएको छ उनलाई।
सुनसरीस्थित कोशी ब्यारेज आडको मुखिया बस्ती, दिउँसो १२ बजेदेखि दैनिकजसो उनी कोशी किनार पुग्छन्। हरेक दिन कोशीको भङ्गालोमा माछा छोप्नु उनको दैनिकी हो। अतिपयका लागि अभिसाप भएको कोशी नदी उनका लागि भने वरदान बनेको छ। कोसीका माछा बेचेरै उनी साहुदेखि श्रीमतीसम्मलाई रिझाउँछन्।
२ छोरी र ३ छोराका बाबु हुन पन्चलाल। छोराछोरी सबैको विवाह भइसक्यो। सबैले आ-आफ्नो परिवार धानिरहेका छन्। उमेरले ७० पुग्न लागे उनी। तर, साहुको ऋणले भने उनलाई अझै तन्दुरुस्त बन्न बाध्य बनाएको छ। ३ वर्षअघि छोरीको विवाहको ऋण तिर्न पन्चलाललाई ठूलै सकस परेको छ।
६ वर्षअघि जेठी छोरीको ३० हजार रुपैयाँमा बिहे उम्काए। त्यसको ३ वर्षपछि कान्छी छोरीको पनि बिहे भयो। ज्वाइँका बाबुआमाले बाइक र ७५ हजार भारतीय रुपैयाँ दाइजो नदिए बिहे नगर्ने सर्त राखे। छोरीको बिहे नहुने होकी भन्ने त्रास भयो उनलाई। साहु गुहार्नुपर्ने भयो। ५ रुपैयाँ ब्याजमा ३ लाख रुपैयाँ काढे।
त्यसको केही महिनाअघि मात्र उनले आफ्नो पत्थरीको अपरेसन गराएका थिए। छोरीको बिहेका समयमा पूरा निको नभइसकेका उनको काँधमा उपचारका नाममा यसअघि नै लिएको ५० हजार रुपैयाँ ऋण बाँकी नै थियो। त्यसमाथि छोरीको बिहेको ऋणको बोझले उनलाई थप थिच्यो।
छोराहरु सबै आ-आफ्नो व्यवहार गर्ने भइसकेका छन्। हारगुहार गर्ने कोही छैन। जसोतसो आफैं घोटिएर महिनावारी साहुकोबाट लिएको ऋणको ब्याज बुझाउनुपर्छ उनले। ३ वर्षदेखि दिए पनि अझै ५० हजार जति तिर्न बाँकी रहेको उनले बताए।
‘छोरीको सादीको ऋण तिरेर मरिन्छ होला,’ उनी भन्छन्, ‘अहिले तिरेन भने म मरेपछी बुढीलाई साहुले दुःख देलानी फेरि। दिनमा ५ देखि ७ सयको माछा मार्छु। त्यसैले नुनसाबुन किन्छु। अनी साहुकोमा पनि ऋण बुझाउँछु।’
पहिले साइकल, घडी र २/३ हजार रुपैयाँ दहेज (दाइजो) दिँदा छोरीको बिहे अम्किन्थ्यो। तर, अहिले बाइक र १/२ लाख पैसा त अनिवार्य जस्तै भएको उनी सुनाउँछन्। 'दाइजोका कारण छोरीको बिहे गर्न नसकिने अवस्था आइसक्यो,' उनले भने, 'अहिले त ज्वाइँ किने बराबर भएको छ। समयसँगै ज्वाइँ पनि महँगो हुन थाले।'
दाइजो नदिए छोरीलाई हेला गर्छन् कि भन्ने पनि चिन्ता हुने भएकोले जसोतसो दाइजो दिनुपरेको उनी सुनाउँछन्। ‘छोरी जन्मियो भने सबै दुःखी हुन्छन्। दहेज दिन सकिँदैन। सादी होला की नहोला भन्ने तनाव हुन्छ,’ जाल बुन्न छाडेर पंक्तिकारतर्फ फर्किँदै पन्चलालले भने, ‘दुःख भएर के गर्नु? हामी जस्ता गरीबका लागि दुःखनै त हुन्छ।’
दाइजो लिनु अहिले पन्चलालको समुदायमा अनिवार्य जस्तै बनको छ। चलन हो भन्दै पढेलेखेका तथा बुद्धिजीविले पनि यसलाई अनुसरण गरिरहेका छन्। बरु यसको आकार थप चुलिएको छ। कतिपयलाई भने पारिवारिक दबाबका कारण पनि नलिइनहुने बाध्यता छ। यस्तै बाध्यतामा छन् पिन्टु मुखिया पनि। पन्चलालको नजिकै बसेका पिन्टुले भने, ‘दहेज भएन भने बिहे गर्नै मान्दैनन् नयाँ पुस्तामा पनि यसको प्रभाव बढ्दो छ।’
भर्खरै २३ वर्ष लागे उनी। उनी आफ्नो पनि विवाहको तयारी भइरहेको बताउँछन्। 'मलाई दहेज लिन पटक्कै मन छैन। बाबुआमाले दहेज नलिई सादीनै नगर्ने भन्नुभएको छ,' उनले आफ्नै कथा सुनाए।
पिन्टुको बहिनीको केही समयअघि मात्रै विवाह भएको हो। बहिनीको विवाहमा लागेको ऋण तिर्नलाई भए पनि आफ्नो विवाहमा दहेज लिनैपर्ने बाबाआमाले अड्डी कसेका उनी सुनाउँछन्। ‘बाबाआमाले ४ लाख माग्नु भएको छ। खै अब के हुन्छ थाहा छैन,’ पिन्टुले टाउको निहुराए।
त्यतिकैमा काँधमा जाली बोकेर चनरदेव मुखिया पनि त्यहीँ आइपुग्छन्। पन्चलालको छेवैमा बसेका उनको पनि अवस्था पन्चलालको जस्तै रहेछ। ‘अरुको छोरा छ र ढुक्क छ। मेरो त छोरीकै दहेजको ऋण तिर्न सकेको छैन,’ कुराकानीकै बीचमा उनले आफ्नो व्यथा सुनाइहाले, 'दुई वर्ष भयो छोरीको सादी गरिदिएको। सादीमा लागेको २ लाख ऋण तिर्न अब २५ हजार रुपैयाँ बाँकी छ।'
उक्त ऋण तिर्न चनरदेवका लागि पनि उही कोशी नै एकमात्र विकल्प रहेछ। उनी हरेक दिन कोशीमा माछा मार्छन् र बजारमा लगेर बिक्री गर्छन्। त्यसैबाट भएको आम्दानीबाट मरमसला र साहुको ऋण तिर्ने जोहो गरको उनले बताए।
पन्चलाल र चनरदेव मात्र होइनन्। कोशी आसपासका अधिकांश मुखिया जातिको पेसा नै माछा मार्ने हो। दैनिक जीविका चलाउनु र साहुको ऋण तिर्नका लागि उनीहरुको दैनिकजसो कोशी किनारमै बास हुन्छ।दाइजोको सकसले तराई मुलका हरेक समुदायमा समस्या पारेको छ। साहुको ऋण तिर्न नसकेर धेरैको घरजग्गा लिलामी भएका छन्। तर, पनि दाइजोको कहर घट्नुको सट्टा झन् बढिरहेको छ।
बढ्दो महँगीसँगै पन्चलालले भनेजस्तै ज्वाइँको पनि भाउ बढिरहेको छ। दाइजेले समग्र तराई र मधेसमा लाखौं पन्चलाल, चनरदेव र पिन्टुहरुलाई पिरोलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।