प्रिटोरियो- दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकोव जुमाले पद नत्याग्ने भएका छन्। राजीनामा दिन लगातार दवाव परेको भए पनि आफूले पद नत्याग्ने जुमाले स्पष्ट पारेका छन्।
राष्ट्रपति जुमाले आइतबारको सत्तारूढ दल एएनसीका वरिष्ठ नेताहरूसँगको वार्तापछि सो प्रतिक्रिया दिएका छन्। तर सो वार्ताबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।
जुमाको प्रतिक्रियापछि उनको आफ्नै दलका नेताहरूले सोमबार आकस्मिक बैठक बोलाएका छन्। राष्ट्रपति जुमाले भ्रष्टाचारसम्बन्धी आरोपहरूको सामना गरिरहेका छन्।
एएनसी पार्टीका वरिष्ठ नेताहरू आइतबार साँझ नै प्रिटोरियास्थित राष्ट्रपतिको निवासमा वार्ताका लागि पुगेका थियो। उनीहरुसँगको वार्तापछि राष्ट्रपति जुमा पद त्याग्न तयार हुनसक्ने अनुमानहरु सर्वत्र गरिएको थियो।
दक्षिण अफ्रिकामा अर्को वर्ष आम निर्वाचन हुँदैछ। त्यसैले उक्त चुनावअघि नै पार्टी फुट्न सक्ने भएकोले पार्टीका प्रमुखले शक्ति संघर्षलाई पन्छाउन चाहेको बताइएको छ।
राजनीतिक विश्लेषकहरुका अनुसार संसदमा संकल्प प्रस्ताव लगेर भएपनि सत्तारूढ दलका नेताहरूले राष्ट्रपति जुमालाई हटाउन सक्ने प्रक्रिया सुरु हुनसक्छ।
यीनै चर्चाहरुबीच राष्ट्रपति जुमाले पद त्याग्न सक्ने अनुमान गरिएको थियो। तर पनि आइतबार रातिको सो वार्तापछि भने यस्तो सम्भावना नदेखिएको विश्लेषकहरुले बताएका छन्।
सत्तारुढ दलका साथै विपक्षीहरुले पनि राष्ट्रपति जुमाले भ्रष्टाचार गरेकोले सत्ता त्याग्नुपर्ने माग राख्दै आएका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।