रोल्पा- जिल्ला अदालतमा गत वर्ष जम्मा ३ सय ९९ मुद्दा दर्ता भए। त्यसरी दर्ता भएका मध्ये २ सय १७ वटा मुद्दा श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेदका लागि दर्ता गरिएका थिए। यो संख्या जिल्ला अदालतमा वर्षभरि दर्ता भएका कुल मुद्दाको ५४ प्रतिशतभन्दा बढी हो। जिल्लामा बढ्दै गएको सामाजिक र पारिवारिक विखण्डनको यो तथ्यांकले एक पटक सबैलाई झस्काएको छ।
रोल्पामा सम्बन्ध विच्छेदको अवस्था कति भयावह छ भन्ने जिल्ला अदालतको यो तथ्यांकले पुष्टि गर्छ। यो संख्या गाउँघरमा मिलापत्र गरी टुंग्याउन नसकेर अदालतसम्म आएका मुद्दा मात्रै हुन। भद्र भलाद्मीको रोहवरमा गाउँघरमै हुने सम्बन्ध विच्छेदको संख्या यो भन्दा पनि भयावह हुन सक्ने जानकार बताउँछन्। गाउँघरमा मिलाउन नसकेर प्रहरी हुँदै अदालतसम्म आउने यी मुद्दा गाउँमा हुने सम्बन्ध विच्छेदको तुलनामा निकै थोरै हो।
जिल्ला अदालत रोल्पाको अभिलेखमा १६ वर्षीया किशोरीदेखि अधिकतम ७१ वर्षीया वृद्धासम्मले सम्बन्ध विच्छेद गरेको देखिन्छ। जिल्लामा सम्बन्ध विच्छेदको अवस्थालाई अझै नियालेर हेर्ने हो भने यसको प्रवृत्ति बढ्दै गएको छ।
रोल्पा जिल्ला अदालतमा आर्थिक वर्ष ०७३/७४ मा १ सय २४ वटा मात्रै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए। आर्थिक वर्ष ०७४/७५ मा यो संख्या बढेर दोब्बर पुग्यो। उक्त आर्थिक वर्षमा २ सय २७ जनाले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका थिए।
जिल्ला अदालतमा यसरी दर्ता हुने सम्बन्ध विच्छेदका मुद्दामा श्रीमान्ले मादक पदार्थ सेवन गरी कुटपिट गरेको, खानलाउन नदिएको, माइती जाँदासमेत लामो समयसम्म बेवास्ता गरेको जस्ता आरोप हुने गरेको रोल्पा जिल्ला अदालतका सूचना अधिकारी श्रेष्तेदार कीर्तिबहादुर बस्नेतले जानकारी दिए। 'महिलाले अंश लिएर सम्बन्ध विच्छेद गर्न पाउने कानुनी व्यवस्था भए पनि अदालतसम्म आउँदा अंश दाबी नगरेरै सम्बन्ध विच्छेद गरेको पाइन्छ,' उनले भने, 'अंशको हिसाबकिताब घरसारमै मिलाएर अदालतमा दाबी पेस नगरेको हुन सक्छ।'
सामान्य पारिवारिक मनमुटावका कारण पनि सम्बन्ध विच्छेद जस्तो अप्रिय निर्णयमा पुग्ने गरेका घटना प्रशस्त देखिने बताउँछन् लेखापढी कानुन व्यवसायी अर्जुन डिसी। स्थानीय स्तरमा परामर्श गरी टुंग्याउन सम्भव यस्ता समस्यासमेत सम्बन्ध विच्छेदमा गएर टुंगिने गरेको उनको भनाइ छ।
श्रीमान् श्रीमतीको सम्बन्ध विच्छेदले परिवारमा समेत प्रतिकूल प्रभाव पारिहेको छ। छोराछोरीमा मनोवैज्ञानिक असर पर्दा त्यसले स्वास्थ्य र शिक्षामा असर गरिरहेको बाल मनोविज्ञानका जानकार दामोदर आचार्यले बताए। 'सम्बन्ध विच्छेद गरेका दम्पतीका छोराछोरीले पढाइलाई समेत ध्यान दिँदैनन्,' बालकल्याण नमुना माविका शिक्षकसमेत रहेका आचार्यले भने, 'उनीहरुको अधिकांश समय नैराश्यमा बित्ने गरेको देखिन्छ।'
वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै सम्बन्ध विच्छेदको संख्यामा पनि बढोत्तरी आएको छ। पचासको दशकसम्म जिल्ला अदालतमा सम्बन्ध विच्छेदका एकाध मुद्दा मात्रै दर्ता हुने गरेकोमा साठीको दशकपछि यो क्रम बढ्न थालेको अदालतको अभिलेखबाट पुष्टि हुन्छ। पछिल्ला दिनमा यो समस्याले अहिले विकराल रुप लिन थालेको रोल्पा जिल्ला अदालतको मेलमिलापकर्ता तीर्था आचार्यको ठम्याइ छ।
महिलामाथि हुने हिंसा लुकाउन हुँदैन भन्ने जागरण तथा महिला सशक्तिकरणका कारण पनि जिल्लामा सम्बन्ध विच्छेदको घटना बढ्दै गएको बताइन्छ। श्रीमान्ले सामान्य हिंसा गर्दा सहँदै आएका महिलाहरु श्रीमान्को अत्याचार बढेपछि भने अदालतबाट सम्बन्ध विच्छेद गर्न बाध्य हुने गरेका छन्।
श्रीमान् विदेश रहेका अधिकांश महिलाहरुले सम्बन्ध विच्छेदको मुद्दा हाल्ने गरेको आचार्य बताउँछिन्। 'लामो समयसम्म श्रीमान् घर नआउँदा दम्पतीबीच बढ्दै गएको शंका अन्ततः सम्बन्ध विच्छेदमा रुपान्तरण हुने गरेका छन्,' महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाकी अध्यक्ष समेत रहेकी आचार्यले भनिन्, 'देखासिकी गर्ने प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोग पनि सम्बन्ध विच्छेदका कारण हुन्।'
उमेर नपुग्दै आदर्श जीवनको परिकल्पना गरेर विवाह गर्नेहरु परिपक्व भएपछि सम्बन्ध विच्छेदको निर्णयमा पुग्ने गरेका छन्। चेनताको अभाव, अशिक्षा र गरिबीले पनि जिल्लामा सम्बन्ध विच्छेदलाई मलजल गरिहेको आचार्य बताउँछिन्।
मुद्दा गर्न आउने महिलाहरु न्यायलय वा कानुन व्यवसायीसमक्ष आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने भएकाले सहयोगीका साथ उजुरी गर्न आउने गरेका छन्। त्यसकारण पनि उनीहरुका लागि न्याय महँगो बन्दै गएको महिला अधिकारकर्मी तुलसा आचार्यको भनाइ छ।
'चुलोचौकामा सीमित महिलाहरुलाई सस्तो र छरितो न्याय पाउने प्रक्रिया थाहा नहुँदा उनीहरुका लागि न्याय महँगो बनेको छ,' उनी भन्छिन्।
सम्बन्ध विच्छेदपछिको दैनिकी अत्यन्तै चूनौतीपूर्ण हुने गरेको छ। सामाजिक दृष्टिकोणमा बदलाव हुने त छँदैछ, घर बिग्रेको छोरी भन्दै माइतमा पनि फरक व्यवहार हुने गरेको पीडित महिलाहरु बताउँछन्।
१३ वर्षकै उमेरमा विवाह गरेकी सुनिल स्मृति गाउँपालिका ६ की निर्मला थापाले बाँकी दाम्पत्य जीवन सहजताका साथ नचल्ने भएपछि जिल्ला अदालतमा सम्बन्ध विच्छेदको उजुरी दिएकी छिन्। '२० वर्षकै उमेरमा श्रीमान्सँग सम्बन्ध विच्छेद गर्नुपर्ने बाध्यता भयो,' उनले भनिन, 'एकल जीवनको सुरुवातीसँगै दैनिकी चलाउन कठिनाइ भएपछि सदरमुकाम लिवाङमा ज्याला मजदुरी गर्न थालेको छु।'
कलिलै उमेरमा विवाह गर्ने परिपक्व भएपछि पछुताएर सम्बन्ध विच्छेद गर्ने महिला/पुरुषको संख्या जिल्लामा ठूलो मात्रामा रहेको बताइन्छ। यस्ता पीडित महिलाहरुलाई सामाजिक र आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने मानव अधिकारका लागि महिला एकल महिला समूह रोल्पाकी अध्यक्षसमेत रहेकी अधिकारकर्मी तुलसा आचार्य बताउँछिन्।
कम उमेरमै सम्बन्ध विच्छेद गर्ने कतिपय महिलाहरु भने सिप सिकेर आत्मनिर्भरतातर्फ उन्मुख हुन खोजेको पनि देखिन्छ। सिलाइबुनाइ, सल, साडी, स्वेटर र ब्लाउमा बुट्टा भर्ने सिप सिकेर आत्मनिर्भर हुने महिलाको संख्या समेत बढ्न थालेको छ।
२६ पुरुष पनि सम्बन्ध विच्छेदको लाइनमा
पछिल्लो पटक बनेको मुलुकी संहिताले पुरुषले समेत सम्बन्ध विच्छेदको उजुरी दिन पाउने कानुनी व्यवस्था गरेसँगै जिल्लामा यो संख्या पनि बढ्दै जान थालेको छ।
अघिल्लो आर्थिक वर्षको भदौ १ देखि असार मसान्तसम्म जिल्लामा २६ जना पुरुषले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेको रोल्पा जिल्ला अदालतले जनाएको छ।
सम्बन्ध विच्छेदका लागि महिलाको मात्रै उजुरी आउने गरेकोमा गत भदौदेखि पुरुषले समेत यस्तो उजुरी दिन थालेका रोल्पा जिल्ला अदालतका श्रेष्तेदार कीर्तिबहादुर बस्नेतले बताए। त्यसरी दायर भएका मुद्दामध्ये २१ वटा फैसला भइसकेका जिल्ला अदालतले जानकारी दिएको छ।
सम्बन्ध विच्छेदको लागि मुद्दा बोकेर अदालत जाने पुरुषले श्रीमतीले घरको चल सम्पत्ति हिनामिना गरेको, परपुरुषसँग सम्बन्ध राखेको जस्ता आरोप लगाउने गरेका छन्। यसरी सम्बन्ध विच्छेद गर्ने पुष मध्ये अधिकांश समय घरबाहिर रहनेहरु देखिने गरेको बताइन्छ। लामो समय वैदेशिक रोजगारीमा रहेर घर फर्किएकाहरुबाट नै यस्तो उजुरी दर्ता हुने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।