कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि पाटे बाघ गणनाको कार्य शुरु गरिएको छ। निकुञ्ज कार्यालय, जिल्ला वन कार्यालय र सहयोगी संस्थाको सहयोगमा क्यामेरा ट्र्यापिङको सहायताले बाघ गणना हुन लागेको हो।
बाघ गणनाका लागि ९० जना प्राविधिकको टोलीलाई खटाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले बताए। 'गणनाका लागि २ सय ६० जोर स्वचालित क्यामेरा जडान गरिएका छन्', उनलृ भने, 'निकुञ्ज भित्रका चार, जिल्ला वन कार्यालय अन्तर्गतका राष्ट्रिय वनका चार र डडेल्धुराको जोगबुढा चुरे क्षेत्रमा तीन ठाउँमा बाघ गणनाको कार्य हुनेछ ।'
गणना कार्य झण्डै बीस दिनसम्म चल्नेछ। सबै ठाउँमा एकै पटक बाघ गणनाको कार्य हुनेछ। यसका लागि ठाउँ–ठाउँमा प्राविधिकको टोली खटाइएको छ।
डडेल्धुराको जोगबुढा क्षेत्रमा भने पहिलो पटक बाघ गणनाको कार्य हुन लागेको हो। बाघ गणनासँगै आहारा प्रजातीका रुपमा रहेका जनावरको समेत सँगसँगै गणनाको कार्य हुने बताइएको छ।
गत वर्षको गणनामा निकुञ्जमा १७ वटा बाघ फेला परेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।