काठमाडौं– सातमध्ये ६ वटा प्रदेशको पहिलो बैठक सम्पन्न भएको छ। प्रदेश ३ को बैठक माघमा नै सम्पन्न भइसकेको थियो। आइतबार प्रदेश १ र ४ बाहेकका बाँकी चार वटा प्रदेशका पहिलो बैठक सम्पन्न भएको छ।
आइतबार पहिलो बैठक सम्पन्न भएका चार वटा प्रदेशको गतिविधि कस्ता रहे त?
प्रदेश २
यो प्रदेशको पहिलो बैठक शैक्षिक तालिम केन्द्र भवन जनकपुरधाममा बसेको थियो। मध्याह्न १२:५ बजे सुरू भएको बैठक साढे १ बजे सकिएको थियो।
बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य ७९ वर्षीय लगनलाल चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थको प्रथम प्रदेशसभा बैठक आह्वान गर्ने सूचना पढेर बैठक सुरु गरेका थिए। त्यसपछि राष्ट्रिय धुन बजाइएको थियो।
तर, पहिलो बैठक सुरुमै केहीबेर अवरोध भयो। राष्ट्रिय जनता पार्टीका सांसद मनिषकुमार सुमनले सभामुखको आसन अगाडि मधेस आन्दोलनका सहिदको फोटो नराखेको भन्दै उठेर विरोध गरेका थिए।
त्यसपछि राजपाकै सांसद डिम्पलकुमारी झाले सहिदको फोटो नराखेसम्म बैठक नचल्ने बताएकी थिइन्।
'मधेस आन्दोलनका सहिदको फोटो नदेखेपछि राजपाले बैठकमा विरोध गरेको हो', झाले भनिन्।
माओवादी केन्द्रका सांसद भरत साहले जनआन्दोलनका सहिदहरुको तस्बिर समेत संसद् भवनमा राख्न भनेका थिए।
बैठकको अध्यक्षता गरिरहेका सदस्य लगन चौधरीले अर्को बैठकमा सहिदको फोटो राख्ने वाचा गरेपछि बैठक अघि बढेको थियो।
बैठकमा संघीय लोकतान्त्रिक फोरमका तर्फबाट लालबाबु राउत, राजपाका तर्फबाट जितेन्द्र सोनल, नेपाली कांग्रेसका तर्फबाट रामसरोज यादव, एमालेका तर्फबाट सत्यनारायण मण्डल र शत्रुधन महतो, संघीय समाजवादी पार्टीको तर्फबाट सावित्रीदेवी साह र स्वतन्त्र उम्मेदवार शेख अब्दुल कलाम आजादले शुभकामना मन्तव्य राखेका थिए।
एमालेमा विवाद भएका कारण उसका तर्फबाट दुई जनाले मन्तव्य राखेका थिए। त्यहाँ दलपिच्छे बोल्नका लागि फरकफरक समय छुट्याइएको थियो। शनिबार बसेको सर्वदलीय बैठकले प्रदेशसभामा प्राप्त सिट संख्याका आधारमा संघीय समाजवादी फोरमलाई सबैभन्दा बढी १४ मिनेट, राजपालाई १२ मिनेट, एमालेलाई १० मिनेट, कांग्रेसलाई ९ मिनेट, माओवादीलाई ६ मिनेट र संघीय समाजवादी पार्टी तथा स्वतन्त्र विधायकलाई ४ मिनेटको दरले बोल्न पाउनेगरी समय उपलब्ध गराउने सहमति गरेको थियो।
यही समय अनुसार एमालेका कोही एक जना सांसदले १० मिनेट बोल्न पाउँथे। तर, एमालेमा कसले बोल्ने भन्नेमा सहमति हुन सकेन। आइतबारै बिहान बसेको एमालेको संसदीय बैठकले दुवै एमालेमा ओली र नेपाल दुवै गुटका नेताले बोल्ने सहमति गरेका थिए। जस अनुसार ओली पक्षका नेता सत्यनारायण मण्डलले पाँच मिनेट बोले भने नेपाल पक्षका नेता शत्रुघ्न महतोले अर्को पाँच मिनेट बोले।
बैठकले प्रदेशसभा अन्तरिम कार्यविधि, २०७४ लाई संशोधनसहित पारित गरेको छ।
बैठकको अध्यक्षता गरेका चौधरीले कार्यव्यवस्था समितिमा सांसदहरु मनोनयन पनि गरेका छन्। ज्ञानेन्द्र यादव, योगेन्द्र राय, मनीष सुमन, शत्रुधन महतो, प्रमोदकुमार यादव, रामसरोज यादव, शोभा लामा, सावित्रीदेवी, अब्दुल कलाम, रामकुमार साह र ज्वाला साहलाई मनोनयन गरिएको छ।
अर्को बैठक माघ २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ। सभामुखको निर्वाचन भने फागुन २ गते हुने तय गरिएको छ। प्रदेश २ मा १ सय ७ सांसद छन्।
प्रदेश ५
प्रदेश ५ को पहिलो बैठक बुटवल उद्योग वाणिज्य संघको सुन्दरनगरस्थित सभाहलमा बसेको थियो। बैठक दिउँसो १ बजेदेखि २ बजेसम्म बसेको थियो।
बैठक सभाका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी सूचना पढेर सुनाएपछि सुरु भएको थियो।
बैठकमा एमालेका शंकर पोखरेल, माओवादी केन्द्रका कुलप्रसाद केसी, कांग्रेसका वीरबहादुर राना, राष्ट्रिय जनमोर्चाका तारा जीसी, संघीयसमाजवादी फोरमका सहस राम यादवले बोलेका थिए।
बैठकले प्रदेश सभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरेको छ।
अर्को बैठक फागुन २ गतेका लागि आह्वान गरिएको छ। फागुन २ गते नै समामुखको निर्वाचन गरिनेछ। बैठकले सभामुख र उपसभामुख चयनका लागि ५ सदस्यीय समिति पनि गठन गरेको छ। समितिमा एमालेबाट कमलराज श्रेष्ठ, माओवादीबाट दधिराम न्यौपाने, कांग्रेसबाट अष्ठभुजा पाठक, संघीय समाजवादी फोरमबाट सन्तोषकुमार पाण्डेय र जनमोर्चाबाट तारा जिसी रहेका छन्।
प्रदेश ६
प्रदेश ६ को पहिलो बैठक सुर्खेत स्थित डिभिजन सिचाइको हलमा करिब ४५ मिनेट बसेको थियो। दिउँसो ठीक एक बजेदेखि सुरु गर्ने भनिएको बैठक पाँच मिनेट ढिलो सुरु भएर एक बजेर ५० मिनेट जाँदा समापन गरिएको हो।
बैठकको अध्यक्षता ज्येष्ठ सदस्य हिमबहादुर शाहीले गरेका थिए।
४५ मिनेटको अवधिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार जना सांसदले आफ्ना धारणा राख्नुका साथै प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि पारित, सभामुख चयनका लागि मिति निर्धारणसम्मका निर्णय गरिएको छ।
बैठकमा माओवादीका महेन्द्रबहादुर शाही, कांग्रेसका जीवनबहादुर शाही, राप्रपाकी सोशीला शाही र एमालेबाट यामलाल कँडेल सम्बोधन गरेका थिए। उनीहरुले मुख्यगरी समृद्धिका मुद्दालाई केन्द्रमा राखेर बोलेका थिए।
बैठकले सभामुखको निर्वाचन माघ २९ गते गर्ने निर्णय गरेको छ।
प्रदेश ७
प्रदेश ७ को पहिलो बैठक धनगढीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा बसेको बसेको थियो। पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्यश्वरी शाहले गरेकी थिइन्।
बैठकमा एमालेका प्रकाश रावल, कांग्रेसका भरत खड्का र माओवादी केन्द्रका त्रिलोचन भट्टलगायतले बोलेका थिए। उनीहरुको पनि मुख्य प्राथमिकता विकास र समृद्धि नै रहेको थियो।
राष्ट्रिय जनता पार्टीकी सांसद मालामती रानाले प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका रेशम चौधरीलाई प्रमाणपत्र दिन माग गरिन्।
बैठकको सुरुमा प्रदेश प्रमुख मोहनराज मल्लद्वारा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइएको थियो। बैठकमा संसद् अधिवेशन सञ्चालन कार्यविधि, सभामुखको निर्वाचन, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन र संसदमा बोल्ने सांसदका विषय कार्यसूची थिए।
बैठकले सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता ग्रहण गर्ने सदस्यहरूमा माया भट्ट (एमाले), देवराज पाठक (कांग्रेस), वीरमान चौधरी (माओवादी केन्द्र), पूर्णा जोशी (एमाले) र कृष्णबहादुर चौधरी (राजपा) लाई मनोनयन गरेको छ।
बैठक माघ २९ गतेसम्मका लागि स्थगित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।