बिबिसी- 'काउकुती विज्ञानको एउटा निकै फराकिलो अनि गहिरो विषय हो।'
यसै भन्छन् युनिभर्सिटी अफ म्यारील्याण्डका स्नायुवैज्ञानिक रोबर्ट प्रोभाइन। उनले आफ्नो विज्ञता बाडुली लाग्नु, हाइ काढ्नु तथा वायु जानु जस्ता व्यवहारको शोधमा खर्चिएका छन्। तर तीमध्ये काउकुती किन अझ विशेष छ?
छोटकरीमा भन्दा, काउकुती भनेको निकै गम्भीर विषय हो। "यो शरीरको रक्षा वा स्नायुप्रणालीमात्र होइन आफू र अरुबारेको होस वा चेतसँग पनि जोडिएको छ," प्रोभाइन भन्छन्।
अन्य जटिल व्यवहार जस्तै काउकुतीबारे थप जान्न अरु पशुहरुले देखाउने व्यवहारले सघाउ पुर्याउँछ।
काउकुतीका प्रकार
खासगरी काउकुती दुई प्रकारका हुन्छन्। एउटालाई नीस्मेसिस भनिन्छ भने अर्कोलाई गार्गालेसिस भनिन्छ।
नीस्मेसिस चाहिँ शुरुवाती प्रतिक्रिया हो। छालामा हल्का स्पर्शले निम्त्याउने मन नपर्ने खालको अनुभूति हो। यो धेरैमा लागू हुन्छ। "माउसुली, किरा तथा लगभग समग्र जीवमा यस्तो अनुभूति हुन्छ जुन शरीरको छालाको एउटा रक्षात्मक प्रतिक्रियासँग जोडिन्छ," प्रोभाइनले भने। जीवजन्तुले आफ्नो शरीरलाई किराको टोकाइ वा अन्य परजीवीबाट जोगाउन यस्तो प्रतिक्रिया देखाउँछन्। जीउ कन्याउने वा कान छिटोछिटो हल्लाउने व्यवहार नीस्मेसिस हो।
गार्गालेसिस चाहिँ केवल स्तनधारी प्राणीमा मात्र पाइन्छ। यो अलि बेस्सरी गरिन्छ र यसले हाँसो निम्त्याउँछ। स्तनधारी प्राणीमाझ यो एक रमाइलो खेलका रुपमा पनि रहेको छ।
आधारभूत रुपमा काउकुतीको अनुभूति स्पर्श तथा पीडा थाहा पाउने स्नायुसँग जोडिन्छ। तर यो भन्दा थप अन्य विषय पनि छ। "काउकुतीका कारण उत्पन्न हुने हाँसो स्वचालित प्रतिक्रियाभन्दा पनि एक सामाजिक व्यवहार मान्नु उपयुक्त हुन्छ," छाला विशेषज्ञ स्यामुएल टि सेल्डनले सन् २००४ मा काउकुतीबारेको एक समीक्षामा लेखेका छन्। प्राणीको क्रमिक विकासका दौरान कुनै समय यो हाँसो उठाउने व्यवहारमा परिणत भयो।
"हाँसोका निम्ति काउकुती एक मौलिक उत्तेजक हो," प्रोभाइन भन्छन्। "खासमा काउकुती लगाएजस्तो गर्नु विश्वको एक सबभन्दा प्राचीन चुट्किला हो जस्तो मलाई लाग्छ। काउकुती, काउकुती भनेर काउकुती लगाउन खोज्ने कार्य एक यस्तो चुट्किला सरह हो जसले मानिस तथा चिम्पान्जी दुवैका बच्चा हाँस्छन्।"
यसबारे युकेकी युनिभर्सिटी अफ पोर्ट्समथकी मनोवैज्ञानिक मरिना डाभिला रस सहमत छिन्। उनले चिम्पान्जीका हाँसोबारे अनुसन्धान गरेकी छन्।
चिडियाखानाका सञ्चालकहरु तथा आमाहरुलाई उनले क्रमश: चिम्पान्जीका बच्चा तथा मानव शिशुलाई काउकुती लगाउँदै दुई प्राणीबीच रहेको हाँसोको अध्ययन गरेकी छन्। 'यसमा क्रमिक विकास सिद्धान्त अन्तर्गत रहेका सम्बन्धहरुबारे आनुवंशिक विशेषज्ञले आनुवंशिक आँकडा प्रयोग गरेजस्तै हामीले हाँसोका अकुस्टिक आँकडा प्रयोग गरेका छौं,' उनले भनिन्।
खासमा विज्ञानको नाममा मुसालाई काउकुती लगाउने कार्य दुई दशकदेखि जारी छ। यसको शुरुवात सन् २०१० मा प्रकाशित मनोविज्ञान तथा जीवशास्त्र विज्ञ जाक प्यांकसेप तथा उनका विद्यार्थी जेफ्रे बर्गडर्फको विवादास्पद शोधले गर्यो।
खेलिरहेका मुसाले मानिसले नसुन्ने फ्रिक्वेन्सीमा निकाल्ने तीव्र फ्रिक्वेन्सीका आवाज पत्ता लगाएसँगै प्यांकसेपले त्यो कतै मानिसहरुले खेल्दा निकाल्ने आवाजसँग सम्बन्धित छ कि भनेर अनुसन्धान गरे।
शुरुमा हाँस्ने मुसाबारे वैज्ञानिक समुदाय उत्साही थिएनन्। तर त्यसपछि मुसा प्रजातिमा काउकुतीबारे थुप्रै अध्ययन भए।
'ती अध्ययनले काउकुतीले मुसामा पनि मस्तिष्कको त्यही स्थानमा उत्तेजना ल्याउँछ जसले मानवजातिमा खुशी र रमाइलो उत्पन्न गराउँछ भन्ने देखाएका छन्,' मुसामा काउकुतीको प्रतिक्रियाबारे अध्ययन गरिरहेकी युनिभर्सिटी अफ बर्न स्वीटजरल्याण्डकी लुसा मेलोट्टिले भनिन्।
हुन त पशु र मानव व्यवहारलाई सोझै जोड्न वैज्ञानिकहरु हिच्किचाउँछन् तर सर्वसाधारण भने यसमा निकै अगाडि छन्। इन्टरनेटमा पशुका रमाइला व्यवहारका भिडियो निकै लोकप्रिय छन्। तिनमा हुचिल देखि लिएर माछा जस्ता प्राणीलाई काउकुती लगाइएका भिडियो पनि छन्।
तर वैज्ञानिकहरुले त्यस्ता प्रतिक्रिया हाँसो वा रमाइलो नभइ पशुजन्य डरका कारण पनि उब्जिएको हुनसक्ने भनी सतर्क गराएका छन्।
वास्तवमा पशुको अनुभूति ठ्याक्कै थाहा पाउन मुश्किल छ।
हाँसो वा काउकुती जस्ता व्यवहार अध्ययन गर्ने कुरा अलि अनौठो लाग्न सक्छ। तर तिनका व्यवहारिक फाइदा छन्। मुसामा काउकुतीको अध्ययन गरेका बर्गडर्फले त्यसले दिएको परिणामलाई मनोवैज्ञानिक रोगको उपचारमा प्रयोग गरेका छन्। त्यसमाथि पशुहरुको खुशी अध्ययन गरे तिनलाई खुशी राख्न पनि सकिन्छ - खासगरी थुनेर राखिएका पशुहरुलाई।
यी कुराको बुझाइले मानव र पशुको सम्बन्ध जान्न मद्दत मिल्छ अनि मानव हुनुको महत्व के हो भन्ने पनि थप उजागर हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।