सुर्खेत– प्रदेश नम्बर ६ को पहिलो प्रदेशसभा बैठक ४५ मिनेट बसेर सकिएको छ। दिउँसो ठीक एक बजेदेखि सुरु गर्ने भनिएको बैठक पाँच मिनेट ढिलो सुरु भएर एक बजेर ५० मिनेट जाँदा समापन गरिएको हो।
यो ४५ मिनेटको अवधिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चार जना सांसदले आफ्ना धारणा राख्नुका साथै प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि पारित, सभामुख चयनका लागि मिति निर्धारणसम्मका निर्णय गरिएको छ। बैठकले सभामुखको निर्वाचन माघ २९ गते गर्ने निर्णय गरेको छ।
बैठकमा कुन सांसदले के भने?
हामी सबै प्रतिपक्षी : यामलाल कँडेल
सभामा बोल्दै नेकपा एमालेका सांसद यामलाल कँडेलले प्रदेश नंं ६ को समृद्धिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे। निर्धारित १० मिनेट बोलेका उनले विभिन्न समयमा सार्वजनिक हुँदै आएका तथ्यांकहरुले निराश हुने अवस्था सिर्जना भए पनि यहाँ भएको प्रचुर सम्भावनालाई सदुपयोग गर्दै समृद्ध प्रदेश बनाउन सकिने बताए।
प्रदेशको समृद्धिका लागि प्रदेशसभामा रहेका ४० जना सांसद नै प्रतिपक्षी भएको धारणा राख्दै कँडेलले सबै मिलेर अघि नबढे समृद्ध प्रदेश बनाउन नसकिने बताए।
हाम्रै गल्तीले पछि पर्यौं, अब सुधार्छौं : महेन्द्रबहादुर शाही
माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले भाषण गरेर मात्रै प्रदेशलाई समृद्ध बनाउन नसकिने भन्दै अब सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले आफूहरुकै कारण प्रदेश नम्बर ६ विकासमा पछि परेको भन्दै अब सुधार गर्ने प्रतिबद्धता जनाए।
आफूहरुको अबको दायित्व नै संविधानको कार्यान्वयन गर्दै मुलुकलाई समृद्ध बनाउनु भएकाले यो प्रदेशको विकासको जिम्मेवारी आफूहरुको काँधमा आएको बताए।
मिलेर काम गरौं : जीवनबहादुर शाही
नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले सत्तापक्ष वा प्रतिपक्ष भएर नभई विकासका लागि सबै एक पक्ष भएर काम गर्नुपर्ने धारणा व्यक्त गरे। उनले जल, जमिन र जडिबुटीको माध्यमबाट प्रदेश नम्बर ६ लाई समृद्ध बनाउन सकिने बताए।
हिन्दु राज्य र राजसंस्थाको वकालत
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सोशीला शाहीले भने पहिलो बैठकमा नै हिन्दु राज्य र राजसंस्था वकालत गरेकी छन्। उनले जनभावना विपरीत मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरिएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गरिन्। त्यसैगरी उनले पृथ्वीनारायण शाहले एकीकरण गरेको मुलुक अहिले विखण्डनतर्फ जान लागेको भन्दै राजसंस्था पुनस्र्थापित गर्न माग गरिन्।
बैठकमा बोल्दै उनले भनिन्, ‘हाम्रो पार्टी अहिले पनि हिन्दु राज्य र राजसंस्थाप्रति पूर्ण प्रतिबद्ध छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।