पोखरा- प्रदेश नम्बर ४ को प्रदेशसभाको बैठक सोमबार पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा हुँदै छ।
बिहान ११ बजे तय गरिएको बैठकका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले बताए। बैठकमा सहभागी हुन प्रदेश नम्बर ४ अन्तर्गतका जिल्लाहरुबाट कतिपय प्रदेशसभा सदस्य यहाँ आइसकेका छन् भने कतिपय आउने क्रममा छन्।
शनिबार बसेको सर्वदलीय बैठकले प्रदेशसभा बैठकको प्रक्रिया सम्बन्धमा छलफल गर्नुका साथै पोशाक लगायत विषयमा सहमति कायम गरेको बताइएको छ।
ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठका अनुसार, प्रदेशसभा बैठकमा आउन पुरुष तथा महिला सदस्यलाई तीन प्रकृतिको पोशाक निर्धारण गरिएको छ। बैठकमा पुरुष सदस्यले दौरासुरुवाल र कोट वा सुट-प्यान्ट वा आआफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, महिला सदस्यका लागि साडीचोलो वा सुट-प्यान्ट वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ।
लगभग एक घन्टा १५ मिनेट चल्ने अनुमान गरिएको सोमबारको बैठकमा संसदीय परम्परा अनुसार प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढ्ने, आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने व्यक्ति रहेको अध्यक्षमण्डल चयन गर्ने लगायत विषयमा सर्वदलीय सहमति गरिएको छ।
प्रत्येक ठूला दलबाट तीन तीन (कम्तीमा एक महिलासहित) र साना दलबाट एक- एक गरी ११ जनाले मन्तव्य दिने सहमति दलबीच भएको छ।
प्रदेश ४ मा ६० जना प्रदेश सांसद छन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।