जनकपुर– प्रदेश २ को पहिलो संसद् बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य लगन चौधरीले अर्को बैठक माघ २९ गते दिउँसो १ बजेका लागि बोलाएका छन्।
बैठक ऐतिहासिक रुपमा सम्मन्न भएको प्रदेश सांसद डिम्पलकुमारी झाले प्रतिक्रिया दिइन्।
सहिदको फोटो खोजी
जनकपुरस्थित शैक्षिक तालिम केन्द्रको भवनमा बैठक सुरु हुने बित्तिकै राष्ट्रिय जनता पार्टीका सांसद मनिष कुमार सुमनले सभामुखको आसन अगाडि मधेस आन्दोलनका सहिदको फोटो नराखेको भन्दै विरोध गरेका थिए।
त्यसपछि केहीबेर बैठक अवरोध भएको र अर्को बैठकमा फोटो राख्ने सहमतिपछि बैठक अघि बढेको झाले बताइन्।
'मधेस आन्दोलनका सहिदको फोटो नदेखेपछि राजपाले बैठकमा विरोध गरेको हो', झाले भनिन्।
प्रदेश नं २ को प्रदेशसभाको सभामुखको निर्वाचन भने फागुन २ गते हुने भएको छ। प्रदेश २ मा १ सय ७ सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।