काठमाडौं- दुई पेज लामो 'सुसाइड नोट' लेखेर एक युवतीले आत्महत्या गर्ने निर्णयमा पुगिन्।
महोत्तरीकी कपडी थरकी एक युवतीले गत आइतबार दुई पेज लामो सुसाइड नोट लेखेर आत्महत्या गर्ने निर्णयमा पुगेको खुलाइन्। उनले आफूले लेखेको सुसाइड नोट आफ्नो फेसबुकमा समेत पोस्ट गरिन्। सँगै एउटा भिडियो पनि बनाइन्। जहाँ उनले आफूले आत्महत्या गर्नुपर्ने कारण र आत्महत्या गर्ने ठाउँसम्मको बारेमा जानकारी दिएकी छिन्।
उनले आफू आत्महत्या गर्न महोत्तरीबाट सिन्धुली पुगेको भिडियोमा भनेकी थिइन्। मर्ने अग्रिम जानकारी गराएर मृत्युको बाटोमा उनी लम्किँदै थिइन्।
त्यसबेलै जनकपुरकै तराई मधेश राष्ट्रिय परिषद् अभियानका सदस्य राहुलराज यादवलाई फेसबुकमा एउटा लिंक आयो। उनी त्यसबेला आफ्नो व्यक्तिगत काम विशेषले जनकपुरबाट पोखरा पुगेका थिए। आफ्नो म्यासेन्जरमा आएको लिंक खोल्नासाथ उनी झस्किए। जहाँ एक युवतीले २ पेज लामो र निक्कै भावुक पत्र लेखेकी थिइन्। भनेकी थिइन्, ‘सरी ममी, सरी पापा, अल फ्याम्ली, म आत्महत्या गर्दैछु।’
फेसबुकमै पोस्ट भएको भिडियोमा भनिएको थियो, ‘आत्महत्या गर्ने ठाउँ सिन्धुली रोजेको छु।’ आत्महत्याको घोषणा गरेर मृत्युको पथमा हिँडेकी ती युवतीको नम्बर राहुलले केहीबेरको रस्साकस्सीपछि पत्ता लगाए।
जब उनले ती युवतीको फोन नम्बर प्राप्त गरेर कुराकानी गर्छन्, त्यसपछि घटनाले नयाँ मोड लिन्छ।
राहुलले सामाजिक सञ्जाल फेसबुकमै लामो स्टाटस लेखेर भनेका छन्, ‘त्यसपछि मैले उनलाई धेरै सम्झाएँ। बर्दिबाससम्म आउन भनेँ। अन्ततः उनी तयार भइन्।’
राहुलले आफ्ना साथीहरु पूजा साह र मनोहर कुमारलाई जनकपुरबाट बर्दिबाससम्म पठाए। पोखरामा रहेका राहुल बर्दिबास फर्किन आफू पनि गाडी चढे। राहुल बर्दिबास नपुग्दासम्म पूजा र मनोहरले ती युवतीलाई भेटी सम्झाइरहे। ‘युवतीले प्रतिक्रिया दिनुभन्दा पनि मर्छु भन्दै रोइन् मात्र,’ राहुलले ती युवतीसँग भएको कुराकानीबारे नेपाल लाइभलाई सुनाए।
आइतबार राति ती युवतीसँगै पूजा र मनोहरलाई सँगै बस्न राहुलले अह्राए। रातभर उनीहरु युवतीकै साथमा रहे र उनलाई सम्झाए, आडभरोसा दिइरहे। राहुलले लेखेका छन्, ‘डर के थियो भने यदि मैले राखेको अवस्थामा उसलाई केही हुन्थ्यो भने ...., तर त्यस्तो केही भएन।’
सोमबार बिहान राहुल बर्दिबास पुगेका थिए। बर्दिबास पुगेर उनले ती युवतीलाई 'खुब सम्झाएको' राहुलले बताए। राहुलको प्रयासपछि अन्ततः युवती आत्महत्याको बाटोबाट फर्किइन्।
युवतीका बाआमा र मामालाई बर्दिबासमै बोलाएर उनले ती युवतीलाई उनीहरुको जिम्मा लगाए। राहुलकै सहयोगले ती युवतीले पुनर्जीवन पाएकी छिन्।
उनले अन्तमा लेखेका छन्, ‘युवतीलाई कुनै एक युवकले जबरजस्ती गरेर मर्न बाध्य बनाएको पत्र र भिडियोमा उल्लेख छ। मृत्युको मुखबाट बचेकी युवतीले न्याय पाउँछिन् भने आशा छ। सम्बन्धित निकायहरुमा यस घटनाको खोजबिन गर्न र दोषीमाथि कडा कारबाही होस् भने जोडदार माग गर्दछु।’
पीडित युवतीले आफ्नो सुसाइड नोटमा कक्षा १० देखि सँगै पढेको सरोज कामती नाम गरेका युवाले पटक-पटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छिन्। पछि किशोरीको नग्न तस्बिरसमेत खिचेर परिवारका सदस्यलाई पठाउँदै ब्ल्याकमेलिङसमेत गर्न थालेपछि आफू आत्महत्या गर्ने निर्णयसम्म पुगेको बताएकी छिन्।
यसबारे पीडित भनिएकी युवतीबाट कुनै उजुरी अहिलेसम्म नआएको महोत्तरी प्रहरीले जनाएको छ। पीडित भनिएकी युवतीसँग सम्पर्क गर्दा उनीहरुबाट उजुरी नआएको र उजुरी नआई कारबाही गर्न नमिल्ने प्रहरीले जनाएको छ।
यता यसबारे परिवारसँग उजुरी दिन सल्लाह दिए पनि अहिलेसम्म परिवार तयार नभएको राहुलले बताएका छन्।
सुसाइड नोटः


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।