काठमाडौं- केन्द्रीय बार एसोसिएसन,जिल्ला अदालत र सर्वोच्च अदालत बार एसोसिएनका पदाधिकारीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भेटेका छन्।
प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विवाद आइरहेको समयमा आज बिहान उनीहरुले भेट गरेका हुन्।
भेटमा नेपाल बार एसोसिएनका अध्यक्ष शेरबहादुर केसी, महासचिव खम्बहादुर खाती, नेपाली कांग्रेस निकट डिएलएका पूर्व अध्यक्ष यदुनाथ खनाल लगायत सहभागी भएका थिए।
प्रधानन्यायाधीशविरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्र माग गर्ने आदेश गरेपछि पहिलो पटक उपत्यका बारका पदाधिकारीले भेट गरेका हुन्। भेटमा जिल्ला अदालत काठमाडौं बारका उपाध्यक्ष रमेश हुमगाई, सर्वोच्च बारका सचिव मदन रेग्मी लगायतको सहभागिता थियो।
'हाल जारी विवादको बारेमा साथीहरुले कुरा उठाउनुभयो,' भेटपछि नेपाल लाइभसँग कुरा गर्दै डिएलएका पूर्व अध्यक्ष खनालले भने, 'सामान्य कुराकानी गरेर फर्कियौं।'
खासगरी मुलुकी ऐनको १९४ को सुविधाको विषयमा कुरा भएको उनले बताए। यसअघि सर्वोच्चले १९४ को व्यवस्था बमोजिम पूर्ण इजलाशबाट भएका बाहेक सबै मुद्दामा पुनरावेदन लाग्ने फैसला सुनाएको थियो। तर सर्वोच्च प्रशासनले त्यसलाई अटेर गर्दै दरपीठ गरेपछि त्यसविरुद्ध प्रधानन्यायाधीश पराजुलीलाई ध्यानाकर्षण गराएको उनले बताए।
डा गोविन्द केसीलाई अवहेलना ठहर गरी न्यायालय बचाउन आग्रह गरेको भेटमा सहभागी एक कानुन व्यवसायीले बताए।
केसीको भनाइ सिधै मानहानी गर्ने भएकाले उनलाई उन्मुक्ति दिँदा न्यायालय संकटमा पर्नेतर्फ विचार गर्नुपर्ने भन्दै प्रधानन्यायाधीश पराजुलीलाई उनीहरुले ढाडस दिएका थिए। उपत्यका बारमा सबै अध्यक्षलाई भेटमा उपस्थित हुन आग्रह गरिएको भए पनि उनीहरु अनुपस्थित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।