बन्दीपुरमा कहलिएको व्यापारी घराना पिया परिवार । त्यतिबेला बाग्मती अञ्चलकै धनीमध्येमा नाम आउने परिवारका मदन पियालाई नपुग्दो केही थिएन । त्यसैले हिसाबकिताब गर्न जान्ने गरी पढेपछि बाबुबाजेकै व्यापारतिर लागे भइहाल्थ्यो सन्ततिले । ‘धेरै पढ्नु भनेको जागिर खान हो । जागिर किन खाने ?’ डा. मदनका बुबा–हजुरबाको साझा सोच थियो यो ।
कक्षा ४ मा उक्लिएपछि डा. पियालाई ‘म पढ्नमा सिपालु छु’ भन्ने महसुस हुन थाल्यो । उनले एकपटक पढेको किताब दिमागमा यस्तरी बस्थ्यो कि मानौं कम्प्युटरमा फोल्डर बनाएर सेभ गरिएको फाइल हो । उनले घरमा प्रस्ताव गरे, ‘मलाई बोर्डिङ बढाउनु ।’ उनको संयुक्त परिवार थियो । काकाबुवाका सन्तानमध्ये उनकै उमेरका चार जना थिए । उनका बुवाको भावना के थियो भने, कुनै सन्तानलाई काखापाखा नगर्ने । अरु तीन जनाले बोर्डिङतिर मन नगरेपछि उनी एक्लैलाई पठाइएन । उनी सानैमा पलाएको बोर्डिङ पढ्ने रहर मारेर गाउँकै स्कुलमा अल्झिए ।
तमसुकका चंगा
कक्षामा उनको तुलनामा आइपुग्ने विद्यार्थी अरु थिएनन् । ‘पढाइमा प्रतिस्पर्धा गर्ने कोही नभएपछि मैले हेलचेक्र्याइँ गर्न थालेँ,’ उनले बालापन सम्झिए, ‘त्यसपछि त पूरै ध्यान खेल्नतिर गयो । बन्दीपुरको डाँडामा घण्टौँ चंगा उडाएर बस्नु मेरो नयाँ काम थियो ।’
‘त्यतिबेला अहिलेजस्तो बजारमा चाहेजति चंगा पाउने कुरै थिएन । सबैले नेपाली कागजको चंगा आफैँले बनाएर उडाउथे ।’ चंगाका शौखिन डा. पियाले भने, ‘मैले पनि चंगा बनाउन सिकेँ । त्यसपछि त के र, घरमा नेपाली कागज भेट्यो कि त्यो चंगा बनिहाल्थ्यो ।’ उनी सम्झिन्छन्, ‘एकदिन कोठामा कागज खोज्दै जाँदा एउटा टिनको ट्यांकाभरि नेपाली कागज भेटियो । त्यसपछि म दिनदिनै त्यहाँबाट कागज झिक्दै चंगा बनाएर उडाउन थालेँ । मलाई नेपाली कागज खोजिरहनुपर्ने समस्यै भएन ।’ ट्यांकामा रहेका नेपाली कागज झिक्दै चंगा बनाएको एकदिन उनका साहिँला काकाले देखे । त्यसपछि सुरु भयो घरमा केरकार । बुबा–काकाहरुबीच हल्लीखल्ली भयो । बुबाले झपारेपछि उनले थाहा पाए, ती त सबै तमसुक पो रहेछन् । ‘गाउँका मान्छेले हामी व्यापारीकहाँबाट लगेको ऋणका धेरै तमसुक मैले उडाइसकेको थिएँ,’ उनले थपे, ‘घरका ठूला मान्छेले काम बिगारिस भन्दै हप्काएपछि त्यो चंगाको मेरो मुहान सुक्यो । घरका मान्छे पनि रिसाए ।’
अहिले उनी सम्झिन्छन्, ‘नजानी–नजानी मैले त ठिकै पो गरेको रहेछु ।’ जब उनी बन्दीपुरको समाजसेवामा लागे, त्यसपछि आफूले बच्चामा गरेको उक्त कामप्रति पश्चाताप रहेन । उनी भन्छन्, ‘त्यति तमसुक नहुँदा हाम्रो परिवारलाई ठूलो धक्का लागेन । जसको उड्यो, उनीहरुमध्ये कतिले त पैसा तिर्नुपरेन । राम्रै भयो ।’
घुम्न जान पास
आफूले भनेजस्तो स्कुलमा पढ्न नपाएपछि र स्कुलमा अरुभन्दा जान्ने छु भन्ने लागेदेखि डा. पियाको पढाइ पनि खस्किन थालेको थियो । ४ कक्षामा सबैभन्दा जान्ने छु भन्ने ठानेका पिया ८ कक्षा पुग्दा जसोतसो पास हुने अवस्थामा पुगिसकेका थिए । उनलाई गणित विषय पढ्नै मन नलाग्ने अनि नेपालीमा दाग लाग्यो । धन्न, एउटा विषय फेल हुँदा पनि माथिल्लो कक्षा पढ्न पाइने नियमले उनी ९ कक्षामा पुगे ।
‘९ कक्षामा ऐक्षिक विषय रोज्नुपर्ने हुन्थ्यो । फारम भर्ने बेलामा सजिलो विषय कुन भर्ने होला भन्ने सोच्दै गर्दा एक जना शिक्षक आइपुगे । ती शिक्षकले गाणित र भूगोल विषयमा भर्न लगाए । अनि पढ्न उक्साए ।’
उनको परिवारमा एउटा चलन थियो । कक्षा ९ मा सबै विषय पास हुनेलाई भारतका विभिन्न ठाउँमा घुमाउन लैजाने । पास नभए घुम्न नपाउने दबाब प¥यो उनीमाथि । उनलाई घुम्न जाने कुराले लोभ्यायो । पढ्न मिहिनेत गर्न थाले । कक्षा ९ मा फस्र्ट डिभिजन आयो । उनले घुम्न पाए ।
बन्दीपुरकै भानु हाइ स्कुलमा पढिरहेका उनलाई त्यसपछि भने काठमाडौँ क्षेत्रपाटीको जुद्धदय हाइ स्कुलमा पढ्न पठाइयो । त्यहाँ उनलाई पढ्ने वातावरण मिल्यो । उनले भने, ‘त्यहाँ हरेक कुरालाई यति राम्रोसँग बुझाइन्थ्यो कि, ममा पढ्ने जाँगर झन् बढ्न थाल्यो ।’
उनलाई पढाइमा प्रोत्साहन मिल्नुमा म्याडम क्युरीको जीवनी पनि एक थियो । म्याडम क्युरी अभावले घेरिँदा पनि राम्रो पढेर कसरी लक्ष्यमा पुगिन् भन्ने विषयलाई अंग्रेजी शिक्षकले यसरी प्रस्तुत गरिदिएका थिए कि, उनलाई सोचमग्न बनायो । लाग्यो, ‘मसँग त पढ्नका लागि कुनै अवरोध छैन । किन नपढ्ने ?’
झन्डै पशुका डाक्टर
उनका प्रिय गुरुमध्ये गौरी राजभण्डारीले एकदिन सोधे, ‘मदन बाबु, भविष्यमा तिमी के बन्ने?’ एसएलसी पास भएपछि बाबुबाजेकै व्यापारतिर लाग्ने सोच बनाएका उनले व्यापारी बन्ने योजना सुनाए । तर, राजभण्डारीले उनलाई डाक्टर बन्न सुझए। एसएलसी सकेर आइएससी पढ्ने र त्यसपछि डाक्टर बन्ने कुरामा डा. पियालाई उनका गुरु राजभण्डारीको मार्गदर्शन मिल्यो ।
एसएलसीपछि उनी देवघाट घुम्न गएका थिए । त्यहाँ एकजना ज्योतिषिलाई भेटे । ज्योतिष विद्याप्रति उति चासो नराख्ने उनले साथीहरुको करबलमा हात हेराए । हात हेर्नेले भने, ‘एसएलसीमा दोस्रो हुनेछौ र भविष्यमा जिउँदो मान्छे चिर्ने पेशा गर्नेछौ।’ संयोग त्यस्तै प¥यो, उनी एलएलसीमा सेकेन्ड डिभिजनमा पास भए र पेशा पनि डाक्टरी नै ।
उनले त्रिचन्द्र क्याम्पसमा आइएससी पढे । त्यो बेला फस्र्ट डिभिजनमा पास हुने विद्यार्थी निकै कम्ति हुन्थे । आइएससी पास गर्ने प्रायःले सरकारी कोटामा डाक्टर, इन्जिनियर पढ्न छात्रवृत्ति पाउँथे । तर, डा. पियाले आइएससी गर्ने वर्ष इतिहास उल्टियो । ६० जनाले फस्र्ट डिभिजनमा पास गरे । उनको भने जम्मा ४९ दशमलब ९ प्रतिशत मात्रै आयो । नियम के बन्यो भने, ५० प्रतिशतभन्दा बढी ल्याउनेले मात्रै डाक्टरी पढ्न छात्रवृत्तिका लागि निवेदन दिन पाउने। सरकारी छात्रवृत्तिमा डाक्टर बन्ने उनको योजना त्यहीँ तुहियो ।
छात्रावृत्ति भएन त के भो, घरकै पैसाले पढेर भए पनि डाक्टर चाहिँ बन्छु भन्ने सोच आयो उनलाई । तर घरबाट पैसा तिरेर पढाउन राजी भएनन् । यसै पनि घारका मान्छे त छोरो व्यापारमै फर्कियोस् भन्ने चाहन्थे । ‘अब मेरा सामु दुई विकल्प थिए,’ उनले भने, ‘थप अध्ययन गर्ने हुँदा भेटेनरी वा डेन्टल साइन्समध्ये एउटा रोज्नुपर्ने भयो ।’
नेपालमा खासै महत्व नभए पनि विदेशमा राम्रो अवसर छ भन्ने बुझेर उनले भेटेनरी रोजे । फारम भरेपछि अभिभावकको सही चाहिन्थ्यो । साहिँला काकालाई हस्ताक्षर गर्न लगाए । काकाले सोधे, ‘भेटेनरी साइन्स भनेको के हो?’ उनले सजिलोसँग बुझाइदिए, ‘पशुको डाक्टर ।’ काकाले उनलाई सम्झाए, ‘हामी अञ्चलमै नाम चलेका व्यापारी । छोरा के गर्छ भनेर कसैले सोध्यो भने, पशुको डाक्टर छ भन्नु ? हामी पशुको डाक्टरका बा हुनु ?’ फारम च्यातेर काकाले उर्दी जारी गरे, ‘मिल्छ भने मान्छेकै डाक्टर बन्। जति पैसा लाग्छ तिरौँला ।’
मुम्बईको मोहनी
‘हाम्रो लागि भारतबाट सामान पैठारी गर्ने भारतीय व्यापारीसँग काकाले मेरो एमबिबिएस पढ्ने रहर सुनाउनु भएछ ।’ डा. पियाले भने, ‘ती व्यापारीले बिहारका चिफ मिनिस्टरले पाउने कोटा मिलाइदिने आश्वासन दिए ।’ तर, त्यही वर्षदेखि उक्त कोटा सरकारले हटाइदिएको त्यहाँ पुगेपछि थाहा भयो पियालाई । आफूसँगै आइएससी पास भएका एकजना दाई नाता पर्नेसँग डाक्टर बन्ने सपना बोकेर मुजफ्फपुर पुगेका उनी उक्त कोटा नपाएपछि घुम्न भनी लखनउ तिर गए । उनलाई डाक्टर पढ्ने बन्दोबस्त गरिदिन व्यापारको हिसाबकिताब राख्ने बाहुन बाजे पनि उनीसँगै गएका थिए । त्यसकारण पैसाको अभाव थिएन । ‘बाजेलाई फकाए पुगिहाल्थ्यो । मैले बाजेलाई लखनउबाट दिल्ली हुँदै मुम्बईसम्म घुम्न जान राजी गराएँ ।’ उनले भने, ‘फोन नहुने जमानाको फाइदा उठाइयो । कसैले कहाँ पुग्यौ ? किन जाँदैछौ ? भनेर सोध्ने कुरा भएन । हामी मनमौजी घुमिरह्यौं ।’
मुम्बई पुगेपछि त्यो ठाउँले मोहनी लगायो उनलाई । मुम्बईमै बस्ने उनका छिमेकीले उतै बिएससी पढ्न उक्साए । मुम्बई पुगेपछि उनलाई पनि फर्किएर नेपाल जान मन लागेन । उनी त्यहाँ भर्ना भएर बिएससी पढ्न थाले । हँसिलो, गोरो वर्णका युवा पियालाई क्याम्पसका केटीले पछ्याउन थालेछन् । उनले मुम्बई कहानी सुनाए, ‘त्यो बेला नै मुम्बईका केटीहरु फ्य्रांक थिए । कक्षामा सँगै बस्न खोज्ने, क्यान्टिनमा सँगै जाने र घरसम्म आउने केटीहरु हुन्थे । तर, म त केटीसँग बोल्यो कि शंका गरिहाल्ने समाजमा हुर्किएको मान्छे । त्यो बेलासम्म कुनै अपरिचित केटीसँग खुलेर बोलेको थिइनँ । घुलमिन हुन धेरै गाह्रो पर्यो ।’ सुरुमा बोल्न लजाउने पिया जब केटी साथीहरुसँग पनि उत्तिकै बोल्न थाले तब उनले नेपाल फर्किनुपर्ने भयो ।
तत्कालीन स्वास्थ्य सचिव भेषबहादुर थापा उनका काकाबुवाका परिचित थिए । एकदिन घरमा पुगेका बेला उनले सोधे ‘भतिजा के गरिरहेका छन्’ भनेर । डाक्टरी पढ्न नपाएको गुनासो सुनाइएछ । उनले रसिया वा पाकिस्तान कहाँको कोटा मिलाइदिऊँ भनेर सिधा प्रस्ताव गरे । जब यो प्रस्ताव आयो, उनी मुम्बईबाट सिधै नेपाल हानिए । पियाले पाकिस्तान सहज हुने लागेर त्यतै पढ्न जाने निधो गरे । एमबिबिएस पढ्ने गोलचक्करमा घुम्दाघुम्दा डा. पियाका लागि भेषबहादुर थापा नै अन्तिम अस्त्र बनेर देखा परेका थिए । त्यसपछि उनको डाक्टर बन्ने लक्ष्यले सही बाटो समायो ।
बंगलादेशको बमबारी
उनी तत्कालीन वेस्ट पाकिस्तान (हालको बंगलादेश) स्थित किङ बन्ड मेडिकल कलेज (हालको ढाका मेडिकल कलेज) मा भर्ना भएका थिए । यो सन् १९६७ को कुरा थियो । उनी भर्ना हुँदाताका नै बंगलादेश स्वतन्त्र गराउने लडाइँ भइरहेको थियो । उनी दोस्रो वर्ष पुग्दा त आन्दोलन पुरापूर चर्कियो । आँखैअघि बमबारीका दृश्य देखिन थाले । विदेशी विद्यार्थीको सुरक्षामा सबैको विशेष चासो थियो । नेपालका तर्फबाट राजदूत सरदार ईश्वरीप्रसाद मिश्र थिए । उनले नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा राखे । यसक्रममा डा. पिया ढाकाबाट लाहोर पुगे । युद्धका कारण झण्डै डेढ वर्ष पढाइ भएन । त्यसपछि लाहोरमै पढ्न थाले । जहँ पढे पनि परीक्षा बोर्ड एउटै भएकाले तेस्रो वर्षको परीक्षा लाहोरमै दिए । तर, त्यो बेला अर्थात् सन् १९७१ मा पाकिस्तासँग छुट्टिएर बंगलादेश स्वतन्त्र भइसकेको थियो । त्यसपछि पो परे उनी विलखबन्दमा । पढ्न ढाकै फर्किनुपर्ने तर परीक्षा लाहोरमा दिइएको छ । उनले शिक्षा मन्त्रालय, दूतावास लगायतको ढोका चहारे तर उनको परीक्षालाई मान्यता दिने कुरा मिलेन । त्यो परीक्षा उनले च्यालेन्ज गरेर दिएका थिए । बंगलादेश स्वतन्त्र भएपछि त्यहाँबाट लाहोर पढ्न पुगेका विद्यार्थीलाई पाकिस्तानी विद्यार्थीले शरणार्थी भनेर हेप्थे । भन्थे, ‘तिमीहरु पास हुन सक्दैनौ ?’ यही च्यालेन्ज स्वीकारेर दिनमा २० घन्टासम्म पढेर बिताएको क्षण सम्झिँदै भने, ‘यस्तो दुःख गरेर पास गरेको परीक्षाले मान्यता नपाएपछि मैले नेपाल फर्किने घुर्की लगाएँ ।’ नेपाल फर्किएएपछि अन्तर्राष्ट्रिय रुपमा देशको बदनाम हुने कुरा बंगलादेश र पाकिस्तान सरकारले गम्भीर रुपमा लियो । अन्ततः उनको परीक्षाले मान्यता पायो । उनले फेरि बंगलादेश फर्केर सन् १९७५ मा एमबिबिएस पूरा गरे ।
बाटोमा देखेकी केटीको पछिपछि

एमबिबिएस सकेर आएपछि सानेपामा सञ्चालित शान्ता भवन (अहिले पाटन हस्पिटल) मा उनले चिकित्सकीय सेवा दिन थाले । केही समय त्यहाँ काम गरेपछि इंग्ल्यान्डबाट ट्रपिकल र चेस्ट मेडिसिनमा विशेषज्ञता गर्ने अवसर मिल्यो । तर, घरपरिवारले एउटा शर्त तेस्र्याए, विवाह नगरी जान नपाउने । खासगरी बिहे गर्नुपर्छ भन्ने जोड आमाको थियो । आमाको डर थियो, ‘उता पुगेपछि कुनै कुइरेनीसँग बिबाह गर्ला कि’ भन्ने । यही बेला उनका चिनजानका विष्णु दाइले सुनाए, ‘मदन तिम्रा लागि फिट हुने गोरी, अग्ली केटी बाटोमा हिँडिरहेको देख्छु म ।’
घरथर थाहा छैन । कहाँ बस्ने पत्तो छैन? बाटोमा देखेकी केटीको प्रस्ताव आएपछि डा. पियाले गम्भीर रुपमा लिएनन् । उनले आफूले नदेखेकी बाटोमा हिँड्ने ती केटिबारे भने, ‘ती दाइले कुरा गरेको दुई–चार दिनपछि बाटोमा ती युवती देखा पर्न छोडिछिन् । अचेल त देख्दिनँ, विवाह पो भइसक्यो कि भन्दै विष्णु दाइले सुनाए । मैले नि चासो राख्ने कुरा थिएन, मैले त देखेकै थिइनँ ।’ केही समयपछि फेरि विष्णु दाइले सुनाए, ‘ती नानीलाई त कालीमाटीतिर देखेको थिएँ । बिहे भइसके जस्तो लागेन ।’
विष्णु दाइले बरोबर ती केटीको बारेमा कुरा गरेकाले उनलाई पनि कस्ती रहिछिन् हरौँ न त भन्ने जिज्ञासा मनमा पलायो । उनी विष्णु दाइको पछि लागेर हिँडे कालीमाटीको बाटो ढुक्न । ‘उनी एकदिन आइन्,’ यसो भन्दै गर्दा डा. पियाको ओठमा मुस्कान नाच्यो । उनले सुनाए, ‘मलाई त एकै नजरमा मन पर्यो । विष्णु दाइले मेरालागि सही मान्छे देखाउन ल्याए भन्ने ठानेर मनमनै धन्यवाद दिएँ ।’
त्यसपछि ती युवतीबारे खोजीनिती सुरु भयो । उनी नेपालका पहिलो पुस्ताका इन्जिनियरमध्येका एक ज्ञानबहादुर प्रधानकीे छोरी रहिछिन् । नाम इला । पद्मकन्या क्याम्पसमा डिग्री पढ्दै गरेकी । इलाको बारे जति कुरा खुल्दै गयो, डा. पियालाई उती मन पर्दै गयो । तर, समस्या थियो, ‘माग्ने चाहिँ कसरी ?’
जहाँ इच्छा त्यहाँ उपाय । बन्दीपुरमा बसेका एकजना सिडिओसँग भेट भयो डा. पियाको । जसले इलाको परिवारलाई राम्ररी चिन्थे । उनले आश्वस्त पार्दै ‘ढुक्क भएर माग्न गए हुन्छ’ भनिदिए । डा. पियाको परिवार इलाको हात माग्न गयो । तत्काल बिहेको कुरा छिनिएन । केही समयको भेटघाटपछि दुवैबीच प्रेम भयो । अनि दुवै विवाहका लागि राजी भए । आफ्नो विवाहबारे डा. पिया भन्छन्, ‘हाम्रो एरेन्ज लभ म्यारिज हो ।’
बन्न नचाहेको विशेषज्ञ
क्यान्सरको मेडिसिनमा विशेषज्ञता हासिल गर्ने पिया पहिलो नेपाली डाक्टर हुन् । त्यसअघि रेडियसनका केही डाक्टर थिए । उनलाई क्यान्सर रोग सम्बन्धी अध्ययन गर्ने फिटिक्कै रुची थिएन । किनभने नेपालमा त्यो समय क्यान्सर भएको पत्ता लगाए पनि उपचारको अभाव थियो । उनलाई लाग्थ्यो, ‘उपचार नहुने रोग पत्ता लगाएर मात्रै के गर्नु ?’
उनी बेलायतबा छातिरोग विशेषज्ञ भएर आएपछि पाटन हस्पिटलमा काम गरिरहेका थिए । जयन्ती शाहको नेतृत्वमा क्यान्सरबारे जनचेतना जगाउन क्यान्सर रिलिफ सोसाइटी गठन भएर काम गरिरहेको थियो । एकदिन उनलाई चिठी आयो, ‘तपाईंलाई जयन्ती सरकारबाट दर्शन भेटका लागि बोलावट भइबक्सिएको छ ।’ उक्त सोसाइटीका लागि फोक्सोका क्यान्सर पत्ता लगाउने मेसिन ‘ब्रोनोस्कोपी’ आएको रहेछ । तर, चलाउन जान्ने मान्छे थिएनन् । कसले जान्दछ भनेर खोजी गर्दा डा. पियाको नाम पुग्यो । उनले ब्रोनोस्कोपी चलाए । सोसाइटीसँग काम गरे । उपकरण चलाएपछि देखिएको रोगबारे जानकारी दिनुपर्यो, उपचार प्रक्रिया र उपचार हुने ठाउँ बताइदिनै पर्यो । उनी भारतको भेलोर हस्पिटलका डाक्टरसँग सल्लाह गरेर क्यान्सरका बिरामीको उपचारमा समेत जुट्न थाले ।
सन् १९९० को कुरा हो, एकजना अमेरिकन डाक्टर उनलाई खोज्दै आइपुगे पाटन हस्पिटल । उनले ‘समय के कति छ ? के गरिरहेका छौ ?’ सोधपुछ गरेर गए । पछि डा. पियाका नाममा चिठी आयो, ‘क्यान्सरबारे फेलोसिप गर्न आउनू ।’ उनलाई बोलाउने ती अमेरिकी डाक्टर पनि क्यान्सर रोग विशेषज्ञ रहेछन् ।
उनले क्यान्सरमा एक वर्षे कोर्स पूरा गरेर आए । उनले त्यो बेलाको समाज सम्झिए, ‘त्यो बेला चिकित्सा समुदायमै क्यान्सरबारे प्रसस्त भ्रम थिए । साथीहरु भन्थे, मर्न लागेको र मरेको मान्छे प्रमाणित गर्ने डाक्टर हुने भयौ । हुन पनि उपकरणको अभाव थियो, क्यान्सरको औषधी बजारमा थिएन ।’
क्यान्सरको उपचार सम्भव नभए पनि जनचेतनाले धेरै काम गर्छ भन्ने कुराले उनको मनमा जरा गाड्यो । त्यसपछि क्यान्सर रिलिफ सोसाइटीमा पाँच वर्ष स्वयमंसेवकका रुपमा उनले क्यान्सर रोगबारे जनचेतना फैल्याउने काम गरे । यही क्रममा उनीभित्र समाजसेवाको छाप बसेको थियो ।
भक्तपुर क्यान्सर अस्पतालको संस्थापक निर्देशक डा. पियाले त्यहाँ पाँच वर्ष बिताए । त्यसपछि निजी क्षेत्रका केही अस्पतालमा पनि उनले सेवा दिए । सँगसँगै क्यान्सर विरुद्धको अभियानमा पनि उनी निरन्तर लागिरहे । यस्तै, भरतपुरमा स्थापना भएको बिपी मेमोरियल क्यान्सर अस्पतालमा बोर्ड सदस्यका रुपमा उनले आफ्नो अनुभव बाँड्न पाए ।
डा. पियाले ललितपुर सानेपा स्वास्थ्य केन्द्रमा १५ वर्ष उपचार सेवा दिए । उनी अहिले त्यहाँको संरक्षक छन् । उनले चेस्ट फिजिसियनका रुपमा अमेरिकाबाट पाएको पाँच हजार डलरबाट ‘पिएफटी मेसिन’ किनेर स्वास्थ्य केन्द्रमा राखिदिएका छन् ।

डा पिया परिवार
बन्दिपुर बनाउन निरन्तर
तनहुँको बन्दिपुर कुनै समय चर्चित व्यापारिक केन्द्र थियो । तर, सडक सञ्जालको विस्तारपछि यो सुक्दै गयो । अहिले पर्यटकीय क्षेत्रका रुपमा बन्दिपुर उभिन खोज्दै छ । बन्दिपुरलाई पर्यटकीय गन्तव्य बनाउमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मध्येमा पर्छन् डा. पिया । २०४९ सालमा बन्दिपुर सामाजिक विकास समिति खोलेर बन्दिपुर बनाउने कार्यमा लागिपरेका उनी अहिले पनि सक्रिय छन् ।
बन्दिपुरमा डा. पियाकै नेतृत्वमा विभिन्न विदेशीको सहयोगले दुइटा हस्पिटल बनेका छन्, म्यार्टिनिटी हस्पिटल र चेस्ट हस्पिटल । विभिन्न स्कुलका भवन बनेका छन् । अहिले पनि आफैँले आर्थिक जोहो गर्ने गरी बन्दिपुरमा चामुन्डाको मन्दिर बनाइरहेका छन् उनी । भन्छन्, ‘अहिले पनि जीवनलाई फर्केर हेर्दा, बाल्यकालका कुरा झलझली आउँछन् । आफू जन्मे–हुर्केको बन्दिपुर आँखैमा टाँसिएको छ । त्यसैले म बन्दिपुर बनाउने अभियानमा होमिएको हुँ ।’
२००७ सालमा जन्मिएका डा. पियालाई अझै केही गरौँ भन्ने जोश छ, तर उमेरले भने काम घटाउन अह्राइरहेको छ । उनी भन्छन्, ‘गरिहालिन्छ भनेर तोडले काम गर्दा अचेल स्वास्थ्यले धावा बोल्न थालेको छ । खानपानमा निस्फिक्री मान्छे, अब खानामा लगाम लगाउन थालेको छु ।’ उनको जीवन जिउने मन्त्र हो, ‘हरसम्भव स्वस्थ रहने अनि काम, काम र निरन्तर काम गर्ने ।’ उनले थपे, ‘सकुन्लेज त काम गरिरहन्छु ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।