धनगढी- प्रदेश नम्बर ७ को पहिलो संसद् बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको छ।
बैठक स्थल धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहलमा रंगरोगनसहित कार्पेट बिछ्याउने र कुर्सी राख्ने काम पूरा भएको छ।
प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ सदस्य दिव्यश्वरी शाहले सभामुखका हैसियतमा सभा सञ्चालन गर्नेछिन्।
संसद् अधिवेशनका लागि शुक्रबार नै कार्यसूची तय भइसकेको छ । कार्यसूची अनुसार आइतबार दिउँसो १ बजे हुने संसदको पहिलो अधिवेशनको सुरुमा प्रदेश प्रमुख मोहनराज मल्लको प्रदेशसभा बैठक आह्वान सम्बन्धी सूचना ज्येष्ठ सदस्य शाहले पढेर सुनाउनेछिन्।
दोस्रो प्रस्तावमा अधिवेशन सञ्चालन सम्वन्धी अन्तरिम कार्यविधि पारित गरिनेछ। अधिवेशनमा दलका तर्फबाट एक/एक जना सांसदले विशेष समय लिएर बोल्ने कार्यसूची पनि बनेको छ।
प्रदेश संसदको पहिलो बैठकले ज्येष्ठ सदस्य उपस्थित नभएको बेला सदन चलाउन एउटा प्यानल पनि गठन गर्नेछ। त्यस्तै, सोही बैठकले नै प्रदेश सभामुखको निर्वाचनको मिति तय गर्ने र कार्यव्यवस्था परामर्श समितिको गठन पनि गर्ने सहमति भएको छ।
प्रदेश नम्बर ७ मा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र राजपाका दुई जना सांसद छन्।
पहिलो अधिवेशन अगाडि बिहान नमुना बैठक सञ्चालन गरिने प्रदेश संसद सचिव महतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।