काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपालको प्रदेश नम्बर २ को संसदीय दलको बैठक सकिएको छ।
पार्टी अध्यक्ष मण्डलका नेताहरुको उपस्थितिमा जनकपुरमा बसेको बैठकले आइतबारबाट सुरु हुने प्रदेशसभा बैठकका लागि कार्यविभाजन गरेको छ। बैठकले प्रदेशसभा सञ्चालनका लागि आवश्यक पर्ने कार्यव्यवस्था परामर्श समितिमा मनिषकुमार सुमनलाई पठाउने निर्णय गरेको छ।
त्यस्तै, प्रदेशसभाको नियमावली मस्यौदा समितिमा रामनरेश राय र प्रदेशसभा सञ्चालनका लागि अध्यक्ष मण्डलमा नवलकिशोर शाहको नाम सिफारिस गरेको छ।
आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकलाई राजपा नेपालका तर्फबाट जितेन्द्र सोनलले सम्बोधन गर्ने अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले बताए।
प्रदेश नम्बर २ को प्रदेशसभाको बैठक आइतबार जनकपुरमा बस्दै छ। बैठकको पहिलो दिन सबै पार्टीका तर्फबाट एक/एक जनाले शुभकामना मन्तव्य राख्नेछन्। बैठकले सभामुख निर्वाचनको मिति तय गर्नेछ। त्यसपछि मुख्यमन्त्री लगायतको चयन प्रक्रिया सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।