काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छिन्।
राष्ट्रपतिले आज शुभकामना सन्देश जारी गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तिज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर शिव-पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएको बताएकी छिन्।
सन्देशमा उनले नेपाली मौलिक संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाइराख्नु आजको आवश्यकता भएको बताएकी छिन्।
तीजले महिला अधिकारलाई अझैमाथि उठाउने उपराष्ट्रपति पुनको विश्वास
उता उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाको पर्व हरितालिका (तीज)को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै यस चाडले आपसी सम्बन्ध प्रगाढ बनाउँदै महिला अधिकारलाई अझैमाथि उठाउने विश्वास व्यक्त गरेका छन्।
आज एक शुभकामना सन्देश जारी गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष राष्ट्र भएको विविधतायुक्त संस्कृतिले मुलुक धनी रहेको स्मरण गर्दै यहाँ मनाइने सबैखाले मौलिक चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आइरहेको बताए।
'हरितालिका तीज पर्वले दिदीबहिनी र आम नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि गर्दै महिला अधिकारलाई अझैमाथि उठाउनेमा विश्वस्त छु,' उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।
'नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको योगदान अत्यन्त ठूलो छ, विभिन्न कालखण्डका क्रान्ति तथा सङ्घर्षमा पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै यस अवसरमा आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीमा आग्रह गर्दछु,' सन्देशमा भनिएको छ।
उनले नेपाली संस्कृतिको महत्वपूर्ण पाटोको रुपमा रहेको हरितालिका तीजलगायतका हाम्रा चाडपर्वहरु मनाउने शैलीमा केही सकारात्मक सुधारको खाँचो रहेको औँल्याउँदै स्वास्थ्यलाई ख्याल गर्दै तीज मनाउन आग्रह गरेका छन्।
महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व तीज : प्रधानमन्त्री
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाको महान पर्व हरितालिका तीज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व रहेको बताएका छन्। उनले हरितालिका (तीज)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।
नेपाली महिलाले विगतमा कष्टकर सामन्ती संस्कार र कैयन कुचलनको बोलवाला रहेका बेला वा समानताको मान्यता स्थापित नभएको परिवेशमा समेत तीजलाई थोरै भए पनि राहतको अनुभूति गराउने पर्वका रुपमा मनाउने गरेको प्रधानमन्त्री ओलीले स्मरण गरे।
'नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ,' तीजका अवसरमा प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ।
नेपाली महिलालगायत समाजमा लामो समयसम्म आर्थिक-सामाजिक अवसरबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानूनहरु बनिसकेको उल्लेख गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमा नै गौरव गर्नलायक रहेको पनि दाबी गरेका छन्।
'राजनीतिकलगायत समाजका अन्य क्षेत्रमा नेपाली महिलाको उपस्थिति उल्लेखनीय रहेको छ, महिलाको प्रतिनिधित्व संसद्मा ३३ प्रतिशत र स्थानीय तहमा करीब ४१ प्रतिशत पुगेको छ भन्ने तथ्यले प्रत्येक नेपालीलाई गौरवानुभूति हुने गरेको छ,' प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ। प्रधानमन्त्री ओलीले नीति निर्माणको तहमा महिलाहरुको यसप्रकारको उपस्थितिले आउँदा दिनहरुमा महिला र पुरुषबीच सारभूत समानताका व्यवस्था अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।