काठमाडौं- प्रदेश सरकार गठन लगायतका विषयमा छलफल गर्न मधेसकेन्द्रित दल आन्तरिक छलफलमा जुटेका छन्। प्रदेश २ मा सरकार गठन गर्ने तयारीमा जुटेका मधेसकेन्द्रित दुई दलको संसदीय दलको बैठक जनकपुरमा सुरु भएको छ।
संघीय समाजवादी फोरमको प्रदेश २ को संसदीय दलको बैठकमा सहभागी हुन पार्टी अध्यक्ष उपेन्द्र यादव जनकपुरमा छन्। राष्ट्रिय जनता पार्टी नेपालले समेत प्रादेशिक सरकार गठन र नेता चयनको विषयमा आन्तरिक छलफल सुरु गरेको छ।
दुवै पार्टीभित्र संसदील दलको नेता बन्न प्रदेश सांसदबीच रस्साकस्सी छ। संसदीय दलको नेता मुख्यमन्त्रीको उम्मेदवार हुने भएकाले दुवै दलभित्र नेताहरु दलको नेता बन्न आन्तरिक लबिङ थालेका छन्।
प्रदेश २ मा सबैभन्दा ठूलो पार्टी बनेको फोरमले मुख्यमन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको छ। राजपासहित अन्य पार्टीको सहयोगमा सरकार बनाउने फोरमले बताएको छ। संसदीय दलको नेता बन्न शैलेन्द्रप्रसाद शाह, विजय यादव र लाल बहादुर रावतले नेतृत्वसामु दबाब बढाएका छन्।
संविधान संशोधनको माग गर्दै लामो समयदेखी आन्दोलनरत राजपा नेपालले फोरमसँग मिलेर प्रादेशिक सरकार गठन गर्ने तयारी छ। दोस्रो दलको हैसियतमा सभामुखसहित महत्वपूर्ण मन्त्रालय लिएर प्रादेशिक सरकारमा सामेल हुने राजपाको तयारी छ। राजपा महासचिव केशव झाले प्रदेश सभाको बैठकसँगै प्रादेशिक सरकार गठनको गृहकार्य अगाडि बढ्ने बताए। संसदीय दलको नेतालाई लिएर राजपाभित्र समेत धेरै आकांक्षी देखिएका छन्। दलको नेतामा जितेन्द्र सोनाल, रामनरेश राय यादव र राम बाबुरायले पार्टी भित्र दबाब बढाएका छन्।
प्रदेश २ को प्रदेशसभाको बैठक भोलि बस्दैछ। दुवै दलले प्रदेशसभाको बैठकअगाडि सरकार निर्माण लगायतका विभिन्न एजेन्डाम छलफल अघि बढाएका हुन्। राजपा प्रदेशसभा सांसद मनिष कुमार सुमनले बैठकमा संसदीय दलको नेता चयनले प्रवेश पाए पनि सो विषयमा तत्काल निर्णय हुने सम्भावना कम देखिएको बताए।
संसद बैठक सुरु भएको एक महिनाभित्र प्रदेश सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।