काठमाडौँ- नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले यस वर्षको अमूल्य राष्ट्रिय कलाश्री सम्मान २०७४ प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गर्ने भएको छ। यस्तै ‘राष्ट्रिय कलाश्री पुरस्कार २०७४’ बाट माया ठकुरी सम्मानित हुने भएकी छिन्।
प्रतिष्ठानको बैठकले पुरस्कारबारे निर्णय गरेको अध्यक्ष मोमिला जोशीले जानकारी दिइन्। डा त्रिपाठीलाई कदर–पत्रबाट र ठकुरीलाई नगद रु एक लाख र सम्मान–पत्रबाट पुरस्कृत गरिनेछ।
यस्तै ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०७४’ मणि लोहनी र ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार २०७४’ मोहन दुवाललाई प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ।
युवा पुरस्कारको राशि रु ५० हजार र पत्रकारिता पुरस्कारको राशि रु २५ हजार रहेको छ। सम्मान तथा पुरस्कार आगामी फागुन महिनामा विशेष समारोहकाबीच प्रदान गरिने अध्यक्ष जोशीले जानकारी गराइन्।
प्रतिष्ठानले विगत एक दशकदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र संगीतमा योगदान पुर्याएका साहित्यकार, कलाकार र पत्रकारलाई पुरस्कृत गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।