फेसबुक, इन्स्टा, ट्विटर सबै सामाजिक सञ्जाल बुवाको तस्बिरले भरिएका छन्। सबैले बुवाप्रतिको माया अनि सद्भावलाई क्याप्सनमा पोख्ने प्रयास गरेका छन् । नेपालदेखि टाढा छु, उच्च शिक्षाका लागि यहाँ आएको पनि दुई वर्ष बितिसकेछ। बुवाको मुख हेर्ने दिन, मेरा लागि पनि विशेष छ।
बाल्कोनीमा गएँ, हातमा कफी लिएँ, क्षितिजमा डुब्न लागेको घामले फेरि मेरो विगतलाई एकपल्ट आँखाको पर्दा अगाडि ल्यायो।
म ती व्यक्तिहरुमध्ये एक हुँ, जसको जन्म कसरी भयो? बुवा-आमा को हुन्? नाम के हो? थर के हो? सबै प्रश्नहरुको उत्तर दिन बालिका थिएँ म। कस्ता थिए मेरा बुवाआमा? कस्तो विवशता थियो उहाँहरुलाई कि मलाई जन्म दिएर पनि आफ्नो छोरा भनेर स्विकार गर्न नसक्ने? मैले जब यो धर्तीमा पाइला टेकें, अक्सर अरुले आफ्नो आमाको काख र सामिप्यता पाउछन्, तर मेरो हकमा त्यसो भएन। म त जन्मिने बित्तिकै फ्याँकिएछु, सुनसान झाडीमा।
आमाको कोखभित्रको त्यो न्यानोपनमा रमाउँदै गरेको म अबोध बालिका, जब संसार हेर्न बाहिरी दुनियाँमा आएँ, त्यतिबेला झाडीमा फ्याँकिदा मलाई कति जाडो भयो होला? मलाई झाडीका ति काँडाहरुले कति घोचे होलान्? म नबुझ्ने नै भए पनि मेरो अर्धचेतन मनले कति आमाको काख खोज्यो होला? कतिपटक आमाको स्तनपान खोजें हुँला?
म के नै गर्न सक्थे र? तिनै पिडाहरुलाई सायद जोर-जोरले चिच्याएर कम गर्ने प्रयास गरिरहेको थिएँ होला। म रोएको देखेर बाटो हिंड्ने बटुवाले सुनेछन्। केहीबेरमा मानिसको भिड जम्मा भयो, प्रहरी पनि आए।
दया देखाउनेहरुको कमी भएन। म सायद बुझ्ने हुँदो हुँ त यस्तै भन्दै गरेको सुन्थे होला, 'कस्तो निश्ठुरी मनकी रहिछे यसकी आमा, कसरी छाड्न सकेकी होला, यती राम्री छोरीलाई?, कुन चाहिँ नाठोको भुँडी बोकेकी थिई कुन्नी?, बिचरी, आमाको दुध पनि खान पाउँदिन, अब मर्छे यो त!'
भिड समस्याको समाधान होइन तर भिड भित्रै समस्याको समाधानको बाटो भने हुँदोरहेछ। प्रहरीले तत्कालै मुचुल्का उठायो। मलाई भने बाल गृह पठाइएछ।
त्यहाँ सबैभन्दा पहिले मेरो नाम दिने काम भयो- पुष्पा। जसरी मेरो नाम फूलसँग जोडेर राखियो, त्यसरी नै फूललाई मालीले हेरचाह गरेझैं मेरो स्याहारसुसार बाल गृहका बुवा-आमाले गर्नुभयो।
मलाई सानोको त्यति धेरै याद त छैन, तर जति यादहरु छन्, त्यहाँ मैले कहिल्यै बुवा-आमाको अभावको आभाष गरिनँ। लाग्छ, मेरो तोते बोली फुट्दा, अनी मेरो मुखबाट पहिलोपटक 'बुवा', 'आमा' को बोली फुट्दा उहाँहरु जति खुसी यो संसारमा अरु को भए होलान्? मैले टुकुटुकु हिँड्दा, दातहरु पलाउँदा, कपाल लामो हुँदा उहाँहरुमा कति उमंग सवार भएको थियो होला?
दिन बित्दै गयो, म विद्यालय जाने भएँ। त्यो दिन अरु आफैं लाइनकभरमा गए पनि मलाई बुवाले बोकेर लानु भएको रहेछ। त्यति बेला फोटो पनि खिचिएको रहेछ। हिले पनि फोटो हेर्दा त्यो अवोध सानी केटीको मुहारमा खुलेको खुसीको रङ महसुस गर्नसक्छु। म विद्यालय जान पाउनु भन्दा बढी खुसी त सायद मैले बुवाको काख पाएको थिएँ, फोटोले त्यसै भन्छ।
समय गतिशील छ, दु:ख अनि सुख त समयको चक्र नै हो। मेरो जीवनमा दु:ख त जन्मजात उपहार नै पाएको थिएँ। तर, जीवनमा बुवा अनि आमाको साथ पनि उपहारस्वरुप पाएको थिएँ।
हामी त्यहाँ २२ जना थियौँ। सबैभन्दा सानी थिए मँ, त्यसैले पनि सबैले माया गर्थे मलाईं। त्यत्रो जनालाई खुवाउनुपर्ने, पढाउनुपर्ने अनि लुगाफाटाको व्यवस्था गर्नुपर्ने, कति तनाव हुन्थ्यो होला उहाँहरुलाई।
हामीलाई खाना ल्याउने साहुजीले उधारो पनि दिनुहुन्थ्यो। मलाई अझै याद छ, एकपटक खानेकुरा केही थिएन। साहुजी उधारो धेरै भएकाले बुवासँग रिसाएका थिए। साहुजीले बुवालाई पैसा तिर्न चर्को गरी कराइरहेका थिए। बुवाले हातको औंठी फुकालेर बुवाले भन्नुभयो- आज एकदिनका लागि भए पनि यिनको पेट भरिदिनुपर्नेछ, बरु यो राख्नुस्, भोलि त जसरी पनि मिलाउँला।
बाल गृहमा अरु पनि मजस्तै थिए। कोही मजस्तै झाडिमा फ्याँकिएका, कोही अस्पतालमै छाडिएका, कसैले आमा-बुवा गुमाएका। हामी २२ जनाकै आ-आफ्नै कथा थिए। तर, हामी समयसँगै यति अभ्यस्त थियौं कि हामीले कहिल्यै हाम्रो बुवाको कमीको आभाष गरेनौं।
बुवासँगै आमाको त्याग पनि कम्ती छैन। आफ्ना छोराछोरी र हामीमा केही फरक गर्नुभएन।
एकपटक मलाई निमोनियाले साह्रै सतायो। राति नै मलाई अस्पताल लगियो। उपचारका क्रममा धेरै खर्च लाग्यो, तर बुवाले खर्चसँग सम्झौता गर्नुभएन।
मेरो बुवा संसारकै सबैभन्दा विशाल मन भएको मान्छे हुनुहुन्छ, जहाँ मजस्ता धेरै अटाएका छौं। बुवाको त्यो काख धेरै प्यारो छ, जुन काखमा मजस्ता टुहुराहरु लुटपुटिएका छन्। बुवाका ति कर्म गर्ने हातहरु भगवानका हातभन्दा कमी छैनन्, जसले टुहुराको आँशु पनि पुछ्यो, खुवायो अनि हुर्कायो पनि।
बुवाले शिक्षाको प्रकाशले हाम्रो जीवनमा उज्यालो थप्ने काम पनि गर्नुभएको छ। हामीलाई नैतिकताको पाठ सिकाउनुभएको छ। परिश्रम गर्न सिकाउनुभएको छ। सबैभन्दा ठूलो त उहाँको जस्तो फराकिलो मन गरेर ज्यूँने आँट गर्नुछ।
तपाईंको शीर ठाडो राखिराख्न सधैं प्रयाशरत रहनेछु बुवा। मिस यू बुवा। (प्रतिकात्मक तस्बिर)
(बाल गृहका सम्पूर्ण बुवाहरुप्रति स-सम्मान समर्पित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।